जनता टाइम्स

२३ आश्विन २०७९, आईतवार १३:१५

गिरिराजमणिसँग बदला लिन एमाले प्रवेश गरेर उम्मेद्वार बने जसपाका नेता महतो


जनकपुर, असोज २३ । जनता समाजवादी पार्टी नेपाल (जसपा) का नेता लक्ष्मी महतो टिकट नपाएपछि एमाले प्रवेश गर्नुभएको छ । एमाले प्रवेश गरे लगत्तै एमालेका सचिव रघुबिर महासेठले टिकट दिएर महोत्तरी–१ बाट उहाँलाई उम्मेदवार बनाएको छ ।

जसपाबाट उम्मेदवार बन्न अन्तिम समयसम्म तयारी गरेका महतो एमाले प्रवेश गरेर उम्मेदवार बन्नुभएको हो । सत्तारुढ गठबन्धबाट माओवादी केन्द्रका उम्मेदवार गिरिराजमणि पोखरेलविरुद्ध एमाले–जसपाको गठबन्धनबाट एमालेको चुनाव चिन्हबाट लक्ष्मी महतोलाई उम्मेदवार बनाइएको हो। एमाले र जसपा गठबन्धनमा महोतरी–१ एमालेको भागमा परेपछि महतो जसपा छोडेर एमालेमा आउनु भएको हो ।

जसपाबाट टिकट नपाएपछि महतो स्वतन्त्र उम्मेदवारी दर्ता गराउने तयारी गर्नुभएका महतो शनिबार बिहान एमाले सचिव तथा मधेश प्रदेश इञ्चार्ज रघुवीर महासेठसँगको भेटघाटपछि एमालेबाट उम्मेदवार बन्न सहमत हुनुभएको हो ।

उहाँ यसअघि २०७४ को निर्वाचनमा जसपाबाटै महतो प्रतिनिधि सभाका उम्मेदवार बन्नुभएको थियो । गत निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार पोखरेल निर्वाचित हुनुभएको थियो । आगामी निर्वाचनमा पोखरेल ५ दलीय गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार हुनुहुन्छ ।