जनता टाइम्स

१६ श्रावण २०७६, बिहीबार १७:५४

घाट पुर्‍याएर फर्काइएकी नर्मताको १० दिनपछि मृत्यू


पाल्पा, साउन १६

मृत्यु भएको भनेर घाटमा पुर्‍याएपछि जिवित पाइएकी नर्मता ज्ञवालीको उपचारकै क्रममा निधन भएको छ । घाटबाट अस्पतालमा फर्काइएकी रैनादेबी छहरा गाँउपालिका–१ की ३६ वर्षीय नर्मताको अस्पतालमै मृत्यु भएको हो ।

उपचारको क्रममा तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा ज्ञवालीको मृत्यु भएको अस्पतालले जनाएको छ । लुम्बिनी मेडिकल कलेज प्रभासका सूचना अधिकारी कृष्ण पराजुलीका अनुसार ६ गते अस्पताल भर्ना भई उपचार भइरहेको ज्ञवालीको बिहीबार बिहान ८ बजे मृत्यु भएको हो ।

यसअघि झाडापखालाबाट सिकिस्त भएपछि नर्मताको तानसेनस्थित युनाईटेड मिशन अस्पतालमा १२ दिनसम्म उपचार भएको थियो । निको हुनुको साटो रोगले झन् च्याप्दै गएपछि आफन्तले माया मारेरै ६ गते सोमबार अस्पतालबाट बिरामीलाई डिस्चार्ज गरी घर फर्काउने भन्दै रिडिघाट पुर्‍याएर कालीनदीमा अर्धजल चढाएका थिए । खुट्टाको औला नदीमा डुबाएपछि नर्मताको होस आएको भन्दै उनका आफन्तले उपचारका लागि पुनः अस्पताल पुर्‍याएका थिए ।