जनता टाइम्स

२७ आश्विन २०७९, बिहीबार १९:०३

गठबन्धनलाई सुवास नेम्वाङको प्रश्न : तपाइँहरूको भावी प्रधानमन्त्री को हो ?


काठमाडौं, २७ असोज । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले अहिलेको गठबन्धनसँग चुनावमा जाने नेतृत्व नै नभएको बताउनुभएको छ । आफ्नो चुनाव क्षेत्र ईलाम क्षेत्र नम्बर–२ मा आयोजित कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै उपाध्यक्ष नेम्वाङले अहिलेको गठबन्धनसँग आफूहरुको तर्फबाट भविष्यको प्रधानमन्त्री को हो भनेर समेत भन्न सक्ने अवस्था नरहेको बताउनुभयो ।

एमालेले केन्द्रीय कमिटी बैठकबाट सर्वसम्मत निर्णय गरेर पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको स्मरण गर्दै उहाँले गठबन्धनबाट प्रधामन्त्रीको उम्मेदवार देखाइदिन गठबन्धन दललाई चुनौती समेत दिनुभयो । एमालेले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको भन्दै उपाध्यक्ष नेम्वाङले गठबन्धनको भावी प्रधानमन्त्री को हो भन्दै प्रश्न गर्नुभयो ।

एमालेले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउँदा सत्ता पक्षका दलले त्यो ठूलो कुरा नभएको टिकाटिप्पणी गरेका स्मरण गर्दै उहाँले भन्नुभयो,‘तपाइँहरुको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार को हो ? एक पटक देखाइदिनुस् त ।’ चुनावमा सिट बाँडफाँड गर्न त महाभारत भएको गठबन्धनलाई प्रधानमन्त्रीको उम्मेदवार छान्न महिनौं लाग्ने उपाध्यक्ष नेम्वाङले बताउनुभयो ।

एमालेसँग लड्ने त परै जाहोस् सँगै उभिने क्षमता समेत गठबन्धनसँग नभएको उहाँले बताउनुभयो । ‘गठबन्धन बेगर हामीसँग उभिने क्षमता गठबन्धनका साथीहरुसँग छैन,’नेम्वाङको भनाइ छ । एमालेलाई सिध्याउने उद्देश्यले बनेको अहिलेको गठबन्धनको कुनै उद्देश्य नभएको उपाध्यक्ष नेम्वाङले बताउनुभयो । दिनहुँ बालुवाटारमा बैठक बसेपनि भागबण्डा लगाउन गठबन्धनलाई सकस परेको उहाँले बताउनुभयो ।

सहमति नजुटेपछि र बस्नै नसक्ने भएपछि गठबन्धनको एक घटक जसपा गठबन्धनबाट बाहिरिएको समेत उपाध्यक्ष नेम्वाङले बताउनुभयो । उहाँले भन्नुभयो,‘अति भएपछि उपेन्द्र यादव जी एमालेसँग तालमेलका लागि आउनुभयो, ४–५ दलको गठबन्धन नगरेसम्म एमालेलाई आँखामा आँखामा जुधाएर हेर्न सकिन्न भन्ने अहिलेको गठबन्धनलाई राम्रोसँग थाहा छ, गठबन्धन भत्किँदैछ,भएको पनि के हुन्छ थाहा छैन ।’

मंसिर ४ को चुनावमा बहुमत ल्याउने र एमालेको नेतृत्वमा सरकार बन्ने पनि उपाध्यक्ष नेम्वाङले बताउनुभयो । उहाँले भन्नुभयो,‘मंसिर ४ को चुनावमा विजयी हुन्छौं, मंसिर ४ पछि एमालेको सरकार बनाउँछौं, केपी ओलीलाई प्रधानमन्त्री बनाउँछौं ।’ एमाले यथार्थ बोल्ने पार्टी भएको बताउँदै उहाँले थप्नुभयो,‘एमालेले जे सत्य हो त्यही बोल्छ, जे यथार्थ हो त्यही भन्छ,ढाँटछल एमालेबाट कहिल्यै हुँदैन ।’