जनता टाइम्स

२८ आश्विन २०७९, शुक्रबार १३:४८

काठमाडौंमै तोडियो सत्ता गठबन्धनको सहमति : यी क्षेत्रमा कांग्रेसले दियो माओवादीलाई धोखा


काठमाडौं, असोज २८ । सत्तारुढ गठबन्धनको सीट बाँडफाँटमा भएको सहमति तोडिएको छ । नेकपा माओवादी केन्द्रले सहमतिविपरित कांग्रेसले धोखा दिएको भन्दै काठमाडौंका थप दुई क्षेत्रमा आफ्ना उम्मेदवार कायमै राखेपछि गठबन्धनमा भाँडभैलो मच्चिएको हो ।

सीट बाँडफाँटमा माओवादी केन्द्रले पतिनिधिसभातर्फ काठमाडौंको २, ७ र ९ र प्रदेशतसर्फ क्षेत्र नम्बर ३ को ख, ६ को ख र १० को क पाएको थियो । तर कांग्रेसले ती तीनवटै सीटमा आफ्ना उम्मेदवार उठाएको छ ।

नेकपा एकीकृत समाजवादीले पाएको काठमाडौं ५ को ख मा पनि कांग्रेसले उम्मेदवार उठाएको छ । यता नेकपा माओवादी केन्द्रले गठबन्धनमा कांग्रेसले धोखा दिएको भन्दै काठमाडौं ३ र १० मा प्रतिनिधि सभाका उम्मेदवार कायम राखेको छ ।

काठमाडौं ३ मा प्रतिनिध सभामा बद्री बजगाई उम्मेदवार हुनुहुन्छ भने प्रदेश १ तर्फ कपिलमणी उप्रेती र २ मा महेश्वर फुयाल उम्मेदवार हुनुभएको छ । सो क्षेत्रमा प्रदेशतर्फ गठबन्धनका आधिकारिक उम्मेदवार फुयाल हुनुहुन्छ । तर कांग्रेसले विमल ठकुरी उठाएपछि माओवादीले तीन वटै उम्मेदवार कायम गरेको छ ।

त्यस्तै काठमाडौं १० मा पनि माओवादी केन्द्रले पाएको प्रदेश सभामा कांग्रेसले उम्मेदवार उठाएपछि प्रतिनिधि सभामा माओवादी नेतृ अन्जना विशंखेको उम्मेदवारी कायमै राख्नुभएको छ । त्यस्तै प्रदेशमा पनि माओवादी केन्द्रले दुवै ठाउँमा उम्मेदवारी दिएको छ ।