काठमाडौं, असोज २९ । राष्ट्रपति विद्यादेवी भण्डारीले हातको स्वच्छता स्वास्थ्यको दृष्टिले अत्यन्तै महत्त्वपूर्ण रहेकाे बताउनुभएकाे छ । विश्व हात धुने दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले हात सफा नभएका कारणले नै अनेक संक्रमण भई विश्वभर कैयौं मानिसहरूले जीवन गुमाउनु परेको तथ्यांक पाइएकाे उल्लेख गर्नुभएकाे छ ।
साबुनपानीले हात धुँदा श्वासप्रश्वासजन्य रोग एवं निमोनियाँ संक्रमण तथा झाडापखालामा कमी ल्याउन सकिने र इबोला, हेपाटाइटिस, सार्स जस्ता जीवाणु एवं विषाणुद्वारा लाग्ने रोगबाट बच्न सकिने तथ्य अध्ययनहरूले देखाएका उहाँले उल्लेख गर्नुभएकाे छ ।
कोरोना भाइरसको संक्रमणबाट बच्ने प्रमुख उपायहरूमध्ये हातको सरसफाइ पनि एक भएकाे उल्लेख गर्दै राष्ट्रपति भण्डारीले लेख्नुभएकाे छ – ‘कोभिड-१९ महामारी अझै पनि रहिरहेकाले तीनै तहका सरकार, विभिन्न सामाजिक संघसंस्थाका साथै निजी क्षेत्रले सञ्चालन गर्दै आएका हातको सरसफाइसम्बन्धी सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनु आवश्यक छ ।’
उहँले सबै नेपालीहरूले हातको स्वच्छतासम्बन्धी व्यवहारको विकास गरी सबै नागरिकको जीवनलाई स्वच्छ, स्वस्थ र मर्यादित बनाउन सम्बद्ध सबैमा आव्हान पनि गर्नुभएकाे छ । दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ तथा बालबालिकाहरूमा स्वच्छ र स्वस्थ जीवनका लागि राष्ट्रपति भण्डारीले शुभकामना दिनुभएकाे छ ।
संयुक्त राष्ट्रसंघको आव्हानमा सन् २००८ अक्टोवर १५ देखि मनाउन सुरु गरिएको विश्व हात धुने दिवस आज ‘हातको स्वच्छताको लागि विश्वव्यापी ऐक्यबद्धता’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ विश्वभर मनाइँदैछ ।
साे अवसरमा नेपाल सरकारको अग्रसरतामा ‘हात धुने बानी व्यवहार; स्वस्थ र सभ्य जीवनको आधार’ भन्ने उद्घोषसहित विभिन्न रचनात्मक कार्यक्रमहरू आयोजना गरिरहेकाे उहाँले स्मरण गराउनुभएकाे छ ।













प्रतिक्रिया दिनुहोस्