काठमाडौं, असोज २९ । विवेकशील साझा पार्टीका दुई केन्द्रीय सदस्य नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । उहाँहरूलाई एमाले महासचिव शंकर पोखरेलले पार्टी कार्यालय च्यासलमा स्वागत गर्नुभयो । एमाले प्रवेश गर्नेहरूमा आशिष रेग्मी र सञ्जय बराल हुनुहुन्छ ।
उहाँहरू दुवै जनाले विवेकशील साझा पार्टीको आर्थिक विभाग लगायत विभिन्न जिम्मेवारी निर्वाह गर्नुभएको थियो । उहाँहरूलाई स्वागत गर्दै महासचिव पोखरेलले पार्टी प्रवेशले एमालेप्रतिको आकर्षण निरन्तर रहेको कुरालाई पुष्टि गरेको बताउनुभयो । उहाँहरूलाई पार्टीले यथोचित जिम्मेवारी दिने पोखरेलले बताउनुभयो ।
महासचिव पोखरेलले एमालेले घोषणापत्र मार्फत मतदातामा आफ्नो नीति लैजाँदै गर्दा भावी नेतृत्व केपी ओलीले गर्ने घोषणा गरिसकेको बताउनुभयो । यसले निर्वाचनपछि नेतृत्वको विषयले सिर्जना हुनसक्ने विवादको अन्त्य भएको प्रष्ट पार्नुभयो ।
नेतृत्वको सवालमा पार्टीमा अन्त सङ्घर्ष पेचिलो बन्ने गरेको विगत अनुभवबाट नीतिका आधारमा नेतृत्व स्थापित गर्ने मान्यतामा अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारिएको उहाँले बताउनुभयो । यसले जनतामा सकारात्मक प्रभाव देखिएको पोखरेलले बताउनुभयो । पोखरेलले उहाँहरूको पार्टी प्रवेशले निर्वाचनमा बहुमत हासिल गरी सरकार निर्माण गर्ने र ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियान अगाडि बढाउने एमालेको महाअभियानमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा एमाले प्रवेश गर्नुभएका आशिष रेग्मीले विवेकशील साझा पार्टी जुन उद्देश्यले स्थापना गरिएको थियो त्यो उद्देश्यबाट भड्केको बताउनुभयो । उहाँले आफू पार्टी निर्माणमा योगदान गर्न नितान्त सैद्धान्तिक पक्षलाई महत्त्व दिएर एमाले प्रवेश गरेको बत्ताउनुभयो ।
अर्का नवप्रवेशी बरालले लोककल्याणकारी राज्य स्थापनाको एमालेबाट मात्र सम्भव रहेको बताउनुभयो । सोही निष्कर्षका साथ आफू एमालेमा प्रवेश गरेको उहाँले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्