जनता टाइम्स

३१ आश्विन २०७९, सोमबार १२:३८

प्रचण्डलाई ठूलो झडका, चुनावको मुखैमा सिंगो निर्वाचन क्षेत्रका नेता–कार्यकर्ताले दिए राजीनामा


बाँके, असोज ३१ । नेकपा माओवादी केन्द्रका अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कम्युनिष्ट नेताहरुको तस्विर फाल्दै बिपि कोइराला र गणेशमान सिंहको फोटो राखेर चुनावी प्रचारमा रमाइरहेको बेला कार्यकर्ता भने धमाधम सो पार्टी त्याग्न थालेका छन ।

कांग्रेसको नीति, नेतृत्व र सिद्धान्तलाई अंगिकार गरी चुनावमा प्रचण्ड लागेपछि देशभर माओवादी छाडने क्रम बढेर गएको छ । आफ्ना परिवारका सदस्य र नेताहरुकै परिवारमा मात्रै सिमित राखेर उमेदवार छनोट गरेपछि माओवादीमा पहिरो जाने क्रम बढेको हो । यसै क्रममा बाँकेका क्षेत्र नम्बर ३ (१) मा माओवादी केन्द्रका स्थानीय तहका नेताले सामूहिक राजीनामा दिएका छन ।

नेतृत्व तहले स्थानीय तहका कमिटीले गरेको सिफारिसलाई वास्ता नगरी पार्टीको पद्धतिभन्दा बाहिर गएर उमेदवार छनोट गरेको आरोप स्थानीय नेता तथा कार्यकर्ताले लगाएका छन । निर्वाचनमा उमेदवार छनोटको लागि प्रदेश कमिटीले गरेको सिफारिस र उमेदवार छनोट कार्यविधि विपरीत पार्टीको माथिल्लो कमिटीबाट जर्बरजस्त रुपमा मनोनयन गरेपछि स्थानीय तहका नेताहरुले सामूहिक राजीनामा दिएका छन् ।

माओवादीको खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिका र बाँके क्षेत्र नम्बर ३ (१) समन्वय समिति अध्यक्ष र सचिवसहितका नेताले सामूहिक राजिनामा दिएको विज्ञप्तिमार्फत घोषणा गरेका छन ।

गठबन्धन भएको बाँके निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यको लागि नेपाली कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठौर उम्मेदवार हुनुहुन्छ । पूर्वपत्रकार समेत रहनुभएका चर्चित नेता किस्मत कक्षपति सो क्षेत्रमा एमालेबाट उम्मेदवार हुनुहुन्छ । राठौर भने बर्दियाबाट बाँकेमा पाहुना उम्मेदवार बनेर आउनु भएको हो ।

प्रदेश सभा सदस्यको लागि क्षेत्र नम्बर ३ (१) बाट माओवादी केन्द्र इन्द्रबहादुर खरेल र (२) बाट नेपाली कांग्रेसका बादशाह कुर्मी उमेदवार हुनुहुन्छ । पार्टीको केन्द्रले उमेदवार छनोट गर्दा स्थानीय तहको भावना विपरीत गरेको भन्दै असन्तुष्टि जनाउनेमा माओवादी क्षेत्रीय समन्वय समिति बाँके क्षेत्र नम्बर ३ (१) संयोजक दिपेन्द्रबहादुर शाह, सचिव महेन्द्र बहादुर शाहीलगायत रहेका छन् ।

उहाँहरुले दिएको राजीनामालाई समर्थन जनाउँदै माओवादी बैजनाथ गाउँपालिका समिति अध्यक्ष जयबहादुर विश्वकर्मा र खजुरा गाउँपालिका अध्यक्ष राजकुमार विकले ऐक्यवद्धता जनाएका छन ।

माओवादी केन्द्र बाँके जिल्ला संयोजक डम्बर विक तुफानले स्थानीय तहका नेताहरुले उमेदवार छनोटको विषयलाई लिएर केही असन्तुष्टि जनाएको विषयलाई समाधान गर्ने प्रयास गरिरहेको बताउनु भयो । बाँके क्षेत्र नम्बर ३ (१) का उमेदवार खरेलले चुनावका बेला यस्ता घटना र असन्तुष्टिलाई सम्बोधन गर्दै अगाडि बढने तयारी भैरहेको बताउनुभयो ।