जनता टाइम्स

३१ आश्विन २०७९, सोमबार १७:३८

१ करोड ७९ लाख ८८ हजार मतदाता, कुन क्षेत्रमा कति ? सूचिसहित


काठमाडौं, ३१ असोज । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका मतदाताको अन्तिम नामावली सार्वजनिक गरेको छ । आयोगका अनुसार २०७९ सालको निर्वाचनमा देशभर कुल १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका छन् । यीमध्ये ८८ लाख ४७ हजार ५७९ जना पुरुष, ९१ लाख ४० हजार ८०६ महिला र १८५ जना अन्य छन् ।

देशभर प्रतिनिधिसभाका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ कुल १६५ निर्वाचन क्षेत्र रहेका छन् भने पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तर्गत नै प्रदेशसभातर्फ प्रदेश नं.१ मा ५६, मधेश प्रदेशमा ६४, वाग्मती प्रदेशमा ६६, गण्डकी प्रदेशमा ३६, लुम्बिनी प्रदेशमा ५२, कर्णाली प्रदेशमा २४ र सुदूरपश्चिम प्रदेशमा ३२ वटा निर्वाचन क्षेत्र छन् । आयोगकाअनुसार प्रदेश १ मा ३३ लाख ९६ हजार ८६५ मतदाता छन् भने मधेश प्रदेशमा ३३ लाख ८६ हजार ६२८ जना मतदाता छन् ।

त्यस्तै, वाग्मती प्रदेशमा ३४ लाख ७१ हजार ४९२, गण्डकी प्रदेशमा १८ लाख १७ हजार ५४१, लुम्बिनी प्रदेशमा ३२ लाख ४९ हजार ६३७, कर्णाली प्रदेशमा १० लाख ८ हजार ४०३ र सुदूरपश्चिम प्रदेशमा १६ लाख ५८ हजार ४ जना मतदाता रहेका छन् । देशभर १० हजार ८९२ मतदानस्थलमा २२ हजार २२७ वटा मतदान केन्द्रहरु निर्धारण गरिएको आयोगले जनाएको छ ।