काठमाडौं, १ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा पुग्नु भएको छ । अध्यक्ष ओली कार्यकर्ता भेटघाट तथा चुनावी प्रचार अभियानका लागि आज झापा जानुभएको हो । अध्यक्ष ओलीको साथमा पार्टी उपाध्यक्ष युवराज ज्ञवाली पनि झापा पुग्नुभएको हो ।
नेकपा एमाले पोलिटव्युरो सदस्य एवं झापा निर्वाचन क्षेत्र नं ५ निर्वाचन परिचालन कमिटीका संयोजक देवेन्द्र दाहालका अनुसार अध्यक्ष ओली आज अपरान्ह साढे ४ बजे दमकमा प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार भेटघाटमा सहभागी हुनुहुने बताइएको छ । उक्त भेटघाटपछि नेताहरुसँग निर्वाचनको तयारीका बारेमा छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ ।
भोली बिहान ११ बजे क्षेत्र नम्बर १ को धुलाबारीमा बृहत् कार्यकर्ता भेलालाई अध्यक्ष ओलीले सम्बोधन गर्नुहुने कार्यक्रम छ । यसैगरी दिउँसो २ बजे दमकको रोयल पार्टी पार्टी प्यालेस क्षेत्र नम्बर ५ स्तरीय बृहत् कार्यकर्ता भेटघाट कार्यक्रम आयोजना गरिएको छ । उक्त कार्यक्रममा क्षेत्र नम्बर ५ भरीका कार्यकर्ताहरुको उपस्थिति रहनेछ ।
त्यस्तै कात्तिक ३ गते जनतासँग भेटघाट कार्यक्रम आयोजना गरिएको छ । त्यसका लागि दमक ३ आमचोक र कलम गाउँपालिकाको केर्खामा जनतासँगको भेटघाट कार्यक्रम राखिएको छ । अध्यक्ष ओली ३ गते दिउसो २ः५० बजे भद्रपुरबाट काठमाडौं फर्कने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।





















प्रतिक्रिया दिनुहोस्