जनता टाइम्स

२ कार्तिक २०७९, बुधबार १७:५२

दोलखाली जनताले चिन्दै नचिन्ने ब्यक्तिलाई उम्मेदवार बनाएको भन्दै माओवादी नेतृ देवी खडकाको राजीनामा


काठमाडौं, कात्तिक २ । नेकपा माओवादी केन्द्रकी दोलखा जिल्ला इन्चार्ज एवं पूर्वराज्यमन्त्री देवी खड्काले राजीनामा दिनुभएको छ । स्वास्थ्यको कारण देखाउँदै खड्काले पार्टी हेडक्वार्टरसमक्ष राजीनामा दिनुभएको हो ।

खडकाले स्वास्थ्यको कारण देखाए पनि दोलखाबाट प्रतिनिधिसभामा माओवादी केन्द्रले गंगा कार्कीलाई उम्मेदवार बनाएपछि जिताउन नसकिने ठहरसहित राजीनामा दिनुभएको बुझिएको छ । स्थानीय तह निर्वाचनमा गौरीशंकर गाउँपालिकामा छोरालाई अध्यक्ष निर्वाचित गराएको र प्रतिनिधिसभामा बाबु उम्मेदवार बनेपछि जनताले मत नदिने निश्कर्षमा पुगेपछि खडकाले इञ्चार्जबाट राजीनामा दिनुभएको हो ।

माओवादी केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री खड्का दोलखाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारको प्रमुख दाबेदार हुनुहुन्थ्यो । तर गंगा कार्कीलाई उम्मेदवार बनाइएपछि उहाँले अध्यक्ष प्रचण्डलाई भेटेर राजीनामा बुझाउनु भएको हो । खड्का २०६४ सालको पहिलो संविधानसभामा माओवादीबाट निर्वाचित हुनुभएको थियो ।

खड्का पार्टीबाट प्रत्यक्ष निर्वाचन लड्न सक्षम र योग्य महिला भए पनि आफूमाथि अन्याय भएको गुनासो खडकाको छ । खडकाले प्रचण्डसँगको भेटमा दोलखाली जनताले कार्कीलाई चिन्दै नचिन्ने र जिताउन जति प्रयाश गरे पनि संभव नहुने निश्कर्षसमेत सुनाउनु भएको स्रोतले जनाएको छ । यसअघि आफू चुनाव लडदा कार्कीले अन्तरघात गरेको पनि उहाँले प्रचण्डलाई सुनाएको स्रोतले बतायो ।