जनता टाइम्स

४ कार्तिक २०७९, शुक्रबार ०८:३४

चुनावी माहौल आफ्नो पक्षमा पार्दै पर्शुराम बस्नेत


विराटनगर । नेकपा एमालेको तर्फबाट मोरङ क्षेत्र नं. ६ (ख) प्रदेशसभाका उम्मेदवार पर्शुराम बस्नेतले चुनावी माहौल आफ्नो पक्षमा बनाउँदै लग्नुभएको छ ।

मजदुर र युवा संघबाट राजनीति शुरू गरेका बस्नेतले समाजका हरेक क्षेत्रका व्यक्तिहरुलाई भेटघाट गरेर चुनावी माहौल आफ्नो पक्षमा पार्ने अभियानमा जुटनुभएको हो । माहौल आफ्नो पक्षमा पार्नका लागि बस्नेतले यस क्षेत्रभित्र पर्ने हरेक सामाजिक संघसंस्था र विभिन्न क्षेत्र र वर्गमा मानिसहरु माझ पुगिसक्नु भएको छ । बस्नेतको सक्रियतामा अन्य पार्टीबाट एमालेमा प्रवेश गर्ने क्रम पनि बढदोे छ ।

विराटनगर–६ का निवर्तमान वडाध्यक्ष विजय कामत पुरानो पार्टी छाडेर असोज २४ गते एमाले प्रवेश गरेर बस्नेतको अभियानमा जुटनुभएको छ । जनता समाजवादी पार्टी नेपालबाट विद्रोह गरेर स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकामा उपमेयरमा चुनाव लडनुभएकी बसुन्धरा झासहित १ सय ६५ जना कार्तिक १ गते एमाले प्रवेश गरेपछि माहौल अझ एमालेको पक्षमा बन्दै गएको छ ।

मजदुरबाट आफ्नो करियर सुरु गरेका बस्नेतलाई विराटनगर क्षेत्रका मजदुरको पनि साथ मिलेको छ । बिहिबार राठी ग्रुपले आयोजना गरेको शुभकामना कार्यक्रममा सहभागी मजदुरले यस पटक परिवर्तनका लागि भएपनि पर्शुराम बस्नेतलाई मतदान गर्ने बताए । उनीहरुले विगतका जनप्रतिनिधिले मजदुरका समस्या समाधान गर्न नसकेको बताउँदै बस्नेतले मजदुरकार समस्या सरकार समक्ष पुर्याउनेमा आशावादी रहेको बताए ।

हुने सँगलिने र नहुनेलाई दिने गरी दुःखको साथी सामाजिक संस्था संचालन गर्नुभएका बस्नेत यस क्षेत्रका सबै जातजाती, भाषाभाषीबीच लोकप्रिय छन् । एमालेको भातृ संगठन नेपाल खेलकूद महासंघका केन्द्रीय अध्यक्ष र एमाले १ नं.प्रदेश कमिटी सचिवालय सदस्य बस्नेत तीन दशकभन्दा बढी समय एमाले मोरङको राजनीतिमा सक्रिय हुनुहुन्छ । हरेक कष्टदुःखको बेला जनतालाई सहयोग गर्ने बस्नेतलाई मोरङका मतदाताले रुचाएका हुन् ।

रोगी, विरामी गरिबीदेखि उच्चशिक्षा आर्जन गर्न नसक्ने निम्नस्तरका विद्यार्थीलाई बस्नेतले निरन्तर सहयोग गर्दै आउनु भएको छ । सत्ता गठबन्धनले यस क्षेत्रमा काँग्रेसका केदार कार्कीलाई उम्मेदवार बनाएको छ । तर नेपाली कांग्रेसकै १ नं. प्रदेश समिति सदस्य गोपाल रेग्मीले स्वतन्त्र र जनार्दन निरौलाले नेपाली कांग्रेस विपीबाट प्रदेश सदस्यमा उम्मेदवारी दिनुभएको छ ।