काठमाडौं, ४ कात्तिक । तिहार नजिकिँदै गर्दा यस पर्व सम्बन्धी फरकफरक साइतहरू सार्वजनिक हुँदा आम मानिसमा अन्योल सिर्जना भएको जानकारहरूले बताएका छन्। नेपाल पञ्चाङ्ग निर्णायक समितिले कार्तिक ५ गतेदेखि १० गतेसम्म तिहार विशेष पर्वहरूको साइत तय गरेको छ । यद्यपि, भक्तपुर तलेजुले ७ देखि ९ गतेसम्मको साइत सार्वजनिक गरेको छ ।
दुवै पक्षको साइतमा लक्ष्मीपूजा गर्ने मिति एकै दिन तोकिएको भए पनि म्हपूजा र भाइटीकाको मिति बाझिएको हो । ‘फरक मिति नहोस् र आम मानिसमा चाडपर्व कहिले मनाउने भन्ने विषयमा अन्योल नरहोस् भनेर सबै पक्ष समेटेर बैठक बस्यौँ तर सहमतिमा पुग्न सकेनौँ,’नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष, प्राध्यापक श्रीकृष्ण अधिकारीले भन्नुभयो ।
कुन दिन के मनाउने ?
समितिले जारी गरेको सूचना अनुसार कार्तिक ५ गतेबाट यमपञ्चक सुरु हुन्छ । त्यस दिन यमदीप प्रज्वलन गरी यमराजलाई निमन्त्रणा गर्ने चलन छ । त्यस्तै केही समुदायले सरसामान खरिद् गरी धनतेरस मनाउने गर्छन् । त्यस्तै कार्तिक ६ गते काग तिहार हो। कार्तिक ७ गते एकै दिन कुकुर तिहार र लक्ष्मीपूजा तय भएको छ ।
विज्ञहरूले त्यस दिन बिहान कुकुरपूजा र साँझमा लक्ष्मीपूजा गर्नु उचित हुने बताएका छन् । समितिले सूचनामार्फत ‘नरक चतुर्दशी स्नान गर्न’ उचित हुने जनाएको छ । सामान्यतया एक दिन अघि वा सोही दिन बिहान गाई तिहार मनाएर साँझमा लक्ष्मीपूजा मनाइन्छ । तर, यसपटक लक्ष्मीपूजाको भोलिपल्ट अर्थात् कार्तिक ८ गते मात्र गाई तिहार तोकिएको छ ।
कारण के हो त ?
ज्योतिषी सुरेशचन्द्र रिजालका अनुसार चाडपर्वहरू तिथिअनुसार मनाइन्छ । लक्ष्मीपूजा गर्नका निम्ति चतुर्दशी व्याप्त औँसी पर्न आवश्यक रहेको उनले जानकारी दिए। उहाँले भन्नुभयो,‘चतुर्दशी सकिएपछि औँसी लाग्छ । त्यसको मध्यान्नमा लक्ष्मीपूजा गर्नु भन्ने शास्त्रीय वचन छ ।’ कार्तिक ७ गते साँझ ५ः०४ बजे औँसी तिथि सुरु हुने र ८ गते साँझ ४ः३३ मा समाप्त हुँदै छ। मध्यरातमा औँसी तिथि नपरेकै कारण लक्ष्मी पूजा अघिल्लो रात गर्नु पर्ने ज्योतिषी रिजालको भनाइ छ । कार्तिक ९ गते म्ह पूजा गोवर्द्धनपूजा, बलिपूजा र गोरूपूजा तय गरिएको छ ।
र, कात्तिक १० गते भाइटीका तोकिएको छ । कात्तिक ८ गते खण्डग्रास सूर्य ग्रहण भएकाले म्ह पूजा एक दिन ढिला राखिएको विज्ञहरू बताउँछन् । ‘हामीले शास्त्रमा लेखिएको कुरालाई आधार बनाएर र धर्म र तन्त्रका विज्ञ साथै संस्कृतिविद्हरूसँग सल्लाह बमोजिम राखेर पात्र निर्धारण गरेका हौँ । त्यसैले यसमा विवाद हुनु पर्ने कुरा छैन,’ नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले बताउनुभयो । तर, म्ह पूजा गर्ने विभिन्न समुदायले उक्त निर्णयमाथि विमति जनाएका छन् ।
कस्तो छ भक्तपुर तलेजुको तालिका ?
भक्तपुर नगरपालिका र भक्तपुर तलेजुको संयुक्त निर्णय अनुसार कात्तिकको ७ गते लक्ष्मीपूजा, ८ गते सूर्य ग्रहण सकिएपछि म्ह पूजा र ९ गते भाइटीका मनाइँदै छ । उक्त दिन साँझ ४ः५२ बजे सुरु हुने ग्रहण ५ः२४ मा सकिने जनाइएको छ । भक्तपुर तलेजुका मूल पुजारी सिद्धिवीर कर्माचार्यका अनुसार म्ह पूजा प्राय रातको समयमा मनाइने भएकाले उक्त दिन ग्रहण सकिएपछि नै म्ह पूजा गर्न उचित छ । उहाँले भन्नुभयो,‘भक्तपुरमा हरेक वर्ष लगातार तीन दिन तिहार मनाउने चलन छ।
त्यसैले यस वर्ष त्यो चलन तोड्नुभन्दा ग्रहण निवृत्त भएपछि म्ह पूजा गर्ने निर्णयमा पुगेका हौँ ।’ पञ्चाङ्ग अध्यक्ष अधिकारीले पनि कुनै समुदायले आफ्नो कुल परम्परा अनुरूप तिहार मनाउने छुट रहेको बताउनुभयो । ‘सूर्यमा ग्रहण लागेको स्थितिमा खाना पनि नहुने पौराणिक मान्यता छ। त्यसैले शुभ कार्य तय नगरेका हौँ। तर यो सम्प्रदाय, स्थान विशेष चलन भएकाले आफूले चाहे अनुरूप गर्ने अधिकार सबैसँग रहन्छ ।’ यद्यपि, केही समुदायले राति नभइ बिहानको समयमै म्ह पूजा गर्दै आएका छन् ।
भक्तपुर, ललितपुर र कान्तिपुरकै म्ह पूजा अघिल्ला वर्षहरूमा पनि एक दिन ढिलो, चाँडो भएको स्वीकार्नुहुन्छ पुजारी कर्माचार्य ।‘हामीले स्थान विशेष परम्परालाई निरन्तरता दिन चाह्यौँ। अर्को वर्षदेखि पञ्चाङ्ग निर्णायक समितिले तालिका बनाउँदा सुरुवाती चरणदेखि सबैलाई समेटे यस्तो विवाद हुँदैन,’ उहाँले प्रस्ट्याउनुभयो ।
कसले कुन दिन मनाउने ?
शास्त्रको निर्देशन र विज्ञहरूको सुझाव अनुरूप तय गरिएकाले नेपाल पञ्चाङ्ग निर्णायक समितिले तय गरेको मितिमा तिहार मनाउँदा फरक नपर्ने राय राख्न्नुहुन्छ ज्योतिषी सुरेशचन्द्र रिजाल । यद्यपि, समुदाय वा सम्प्रदाय विशेषले आफ्नो चलन र परम्परा अनुरूप निर्धारित दिनमा तिहार मनाउन सक्ने उनको धारणा छ । ‘हामीले सूर्य सिद्धान्त अनुरूप निर्णय गर्छौँ। पर्व सुधार सम्बन्धी समूहले चाहिँ यस विषयमा मतभेद जनाउँदै आएको छ। यसै वर्ष उक्त समूहले रक्षा बन्धन पञ्चाङ्ग समितिले तोकेभन्दा एक दिन अगाडि नै मनाएको थियो ।’













प्रतिक्रिया दिनुहोस्