काठमाडौं, ४ कात्तिक । नेकपा एमाले उपमहासचिव तथा लमजुङका उम्मेदवार पृथ्वीसुब्बा गुरुङले चुनावपछि एमाले सरकार बन्नासाथ वृद्धभत्ता ५ हजार बनाउने आश्वासन दिएका छन् । आज बेंसीशहर नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले जनताको काम गर्न एमालेलाई एकल बहुमत दिन आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो,‘जनताको काम गर्न एकल बहुमत चाहिनेरहेछ । हाम्रो सरकार बन्नासाथ वृद्धभत्ता ५ हजार पुर्याउँछौं । त्यो वेलामा सम्झिनुहोला एमाले र केपी ओलीलाई । सूर्य चिन्हमा भोट हालेकै कारणले वृद्धभत्ता ५ हजार पायौं भनेर सम्झिनुहुनेछ ।’
ओली नेतृत्वको सरकारले नै यसअघि वृद्धभत्ता बढाएर ४ हजार बनाएको उनले दाबी गरे । उहाँले भन्नुभयो,‘हामीले नै ४ हजार बनाएका हौं । हुन त सरकारको ढुकुटीबाट आउने हो । तर, त्यसलाई राज्यले जनताको समस्या बुझ्नुपर्छ । अल्पसंख्यक, दलितहरुलाई पनि एमालेले भत्ताको व्यवस्था गरेको छ ।’
एमालेले जिल्ला–जिल्लामा विकासको लहर ल्याएको दाबी गर्दै गुरुङले थप्नुभयो, ‘देश र जनताको हितमा हामीले काम गरेका छौं । त्यसैले जनताले गठबन्धनका उम्मेदवार जिताउने कि एमालेका भन्ने तपाईंहरुको हातमा छ । कांग्रेस र गठबन्धनले जनताको पक्षमा कुनै काम गरेको छैन ।’













प्रतिक्रिया दिनुहोस्