जनता टाइम्स

४ कार्तिक २०७९, शुक्रबार १७:३६

पोखरामा माधव नेपालले प्रचण्डको पार्टीको नाम बिर्सिएपछि…


कास्की, ४ कात्तिक । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पोखरामा जारी सत्तारुढ गठबन्धनको प्रादेशिक भेलामा सम्बोधनको सुरूमा माओवादी केन्द्रको नाम भन्दा गलत उच्चारण गर्नुभयो । ‘एकीकृत माओवादीका अध्यक्ष’ भन्दै प्रचण्डलाई सम्बोधन गर्नुभएको नेपालले पछि आफूलाई सच्याउनुभयो । आफैँलाई सच्याउने क्रममा उहाँले गठबन्धनमा धेरै पार्टी भएकाले पार्टीहरूको नाम नै बिर्सने गरेको प्रष्टीकरण दिनुभयो ।

‘नाम नै बिर्सने रहेछ, यति धेरै पार्टी छौं । कुन एकीकृत, कुन केन्द्रीय नै बिर्सिने,’ नेपालले भन्नुभयो । पाँचदलीय गठबन्धन नेकपा एमालेले भनेजस्तो ‘अप्राकृतिक’ नभएको भन्दै संविधान रक्षार्थ बनेको गठबन्धन प्राकृतिक र पवित्र भएको उहाँको दाबी थियो । गठबन्धनको ध्यान सत्तामा पुग्ने मात्र नभई जनतालाई न्याय दिने, सुखी जीवनको प्रत्याभूति, रोजगारी, उत्पादकत्व बढाउन लाग्ने उहाँले बताउनुभयो ।

रोजगारी दिन नसके लुटेर विदेश पठाउने नेताहरू भएको भन्दै उनीहरूलाई कारबाही गर्नुपर्ने नेपालको भनाइ छ । ‘देशभित्र रोजगारी दिँदा पनि घुस खाने, बाहिर पठाउन पनि घुस खाने प्रवृत्ति छ,’ नेपालले भन्नुभयो । नेकपा एमाले र जनता समाजवादी पार्टीलगायतको गठबन्धन प्रतिगामी गठबन्धन भएको उहाँको आरोप छ । विकासका नाममा विनाश गर्न उनीहरू एकजुट भएको भन्दै नेपालले भन्नुभयो, ‘त्यो भ्रष्टाचारमा चुर्लुम्म डुब्ने, प्रतिगमनकारी गठबन्धन हो,’ उहाँले भन्नुभयो ।