जनता टाइम्स

४ कार्तिक २०७९, शुक्रबार १७:५५

मलाई अलि–अलि (राई, डोमार, चमार) देखेहुन्छ : अध्यक्ष ओली


काठमाडौं, ४ कात्तिक । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अलि–अलि राई, अलि अलि डोमार र अलि अलि चमार देखे हुने बताउनुभयो । लोकतान्त्रिक आदिवासी जनजाति महासंघले आयोजना गरेको ‘आदिवासी जनजातिसँग नेकपा एमालेका अध्यक्ष केपी शर्मा केपी ओली’ कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘मेरो आफ्नै छोरोछोरी छैनन् । तर, डोम, चमार, भोटे, राइका छोराछोरी छन् । भनेपछि मेरो पार्टीको दृष्टिकोण के–होला ? मैले बाहुनका छोराछोरी ल्याएर पढाएको छैन । त्यसैले मलाई अलिअलि राई, अलिअलि डोमार, अलिअलि चमार देखेहुन्छ ।’

उहाँले सम्पूर्ण अघि नबढि वा सम्पूर्णलाई अघि नबढाई समृद्ध नेपाल खुशी नेपाली नहुने बताउनुभयो । उहाँले एक अर्को प्रसंगमा भन्नुभयो,‘अल्पसंख्यक, उत्पीडित, आदिवासी जनजाति, दलित सबैलाई अघि नबढाई, समृद्ध नबनाई ‘समृद्ध नेपाल–खुशी नेपाली’ को हाम्रो परिकल्पना पूरा हुँदैन ।

‘एउटा नेपाली के खाउँ, के लाउँ भनेर तड्पिदै छ भने कसरी मुलुक समृद्ध हुन्छ ? हामी सबै पूर्वाधारमा अघि बढेको, जनता विकसित भएको नेपाल बनाउन चाहन्छौँ,’ उहाँले भन्नुभयो । उहाँले वहुसंख्यालाई उत्थान गरेपछि समृद्ध नेपाल बन्ने भन्दै एमालेको सिङ्गो देश उठाउने नीति रहेको बताउनुभयो ।

‘एक जना पनि भोकै रहनु भनेको संमृद्धि होइन,’ उहाँले थप्नुभयो, ‘एमाले छानो नभएको जनतालाई धनी बनाउन लागेको छ । त्यसैले एमाले सबै नेपालीको पार्टी हो । एमाले जनजातिको पार्टी हो ।’ उहाँले हुम्लाका लिमी भ्यालीका तीन वटी छोरीलाई ल्याएर आफूले राजधानीको सुविधा सम्पन्न विद्यालयमा पढाएको स्मरण गराउनुभयो । उहाँले भन्नुभयो,‘मुगुमा पुगेर विद्यार्थी भर्ना अभियान चलाए र त्यहाँका बालबालिकालाई राजधानी ल्याएर सुविधासम्पन्न विद्यालयमा आवासीय सुविधासहित पढाएको छु ।’