जनता टाइम्स

४ कार्तिक २०७९, शुक्रबार १९:०४

मंसिर ४ पछि जनकपुरको रेलभन्दा छिटो विकासले गति लिन्छ : अध्यक्ष ओली


काठमाडौं, ४ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार काम गर्नको लागि नबनेको टिप्पणी गर्नुभएको छ । आज राष्ट्रियसभामा आदिवासी जनजातिसँग चुनाव लक्षित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मंसिर ४ गते जनताको महाअदालतले महान फैसला गर्ने बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘हामीले रेल ल्याउँछौँ भन्दा मजाकमा उडाउँथे। अस्ति भर्खर म चढेर आएँ। तर, रेल खचाखच हुने रहेछ। मलाई त्यहाँका अफिसरहरूले भने रेल थपिदिनुपर्यो भनेर। नत्र एकदमै कोचाकोच भयो रेलमा । रेल विस्तार र गर्नुपर्यो । पूर्वपश्चिम रेलमार्ग निर्माणको लागि मार्ग तयार गरिसकेका छौँ । मुआब्जा दिने काम भइरहेको छ। यो सरकारले काम गरेको छैन ।’

मंसिर ४ पछि जनकपुरको रेल भन्दा छिटो विकासले गति लिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाइवेको गाडिभन्दा छिटो विकासको गति तीव्र गतिमा चुनावपछि बन्ने एमाले सरकारले लिन्छ। मंसिर ४ मा गाउँ–गाउँमा महाअदालत बसेर महाफैसला गर्दैछ। त्यो सही फैसला हुन्छ, साथीहरू लाग्नुस्।’