दमक, कात्तिक ५ । दमकमा एउटा बलात्कार प्रकरण मिलाउन प्रहरीनै अग्रसर भएको सूचना बाहिरिएको छ । माओवादी नेताहरु गगन पुरी, भूमिका कोइराला, इक्सा लिम्बु सक्रिय भएपछि उक्त बलात्कार प्रकरण प्रहरीले नै मिलाउन खोजेको कुरा खुलासा भएको हो ।
प्रहरीका अनुसार माओवादी नेता दीपक फुयालले गंगा (नाम परिवर्तन) लाई बलात्कार गरेका थिए । गंगाले जाहेरी दिएपछि फरार रहेका दीपक पक्राउ परेर अहिले प्रहरी हिरासतमा छन । बलात्कार जस्तो संगीन आरोप लागेर हिरासतमा रहेका अभियुक्तसँग पीडित महिलालाई बोलाएर प्रहरीले भेट गराएपछि प्रहरीको नियतमा समेत शंका उत्पन्न भएको छ ।
हिरासतमा रहेका दीपकसँग प्रहरीले गंगाको भेट गराएको छ । गंगाले सार्वजनिक रुपमा दिएको एक भिडियो अन्र्तवार्तामा प्रहरीले आफूलाई बोलाएर दीपकसँग पाँच मिनेट भेट गराएको खुलासा गरेकी छिन् ।
दीपकलाई जोगाउन दमकका माओवादी नेताहरु गगन पुरी, भूमिका कोइराला, इक्सा लिम्बु लगायत सक्रिय छन् । भूमिका कोइराला र इक्सा लिम्बु दिनभरी प्रहरी कार्यायलमा बसेर दीपकलाई जोगाउने गरी मुद्दाको मिसिल तयार पार्ने काम गरिरहेका कुरा वाहिर आएको छ ।
पीडित महिलाले आफूलाई गगन पुरी, भूमिका कोइराला लगायतले मिल्नका लागि दवाब र धम्की दिएको बताएकी छिन् । भूमिकाले आफूलाई एक मन्दिरमा लगेर गम्भीर मानसिक यातना र दवाब दिएको पनि गंगाले बताएकी छिन् । त्यसपछि आफूले आत्महत्याको प्रयास गरेको पनि उनको भनाई छ ।
गंगाको प्रकरणमा प्रहरीको भूमिका शंकास्पद बिना कारण देखिएको होइन । सत्तापक्षमा रहेका गगन पुरी लगायतले दमकको प्रहरी प्रशासनलाई चरम दवाबमा राखिरहेका छन् । दमकका सरकारी अधिकारीहरु गगनको चर्काे दवाबका कारण विद्रोह गर्ने अवस्थामा पुगेका छन् । दमकका एक प्रहरी अधिकारी भन्छन्, गगनले भनेजति सबै काम मान्ने हो भने हाम्रो जागिर जान्छ ।
तर, प्रहरीले त्यसो भने पनि गंगाको मुद्दा कमजोर बनाएर अदालतमा लगिने सम्भावना भने टड्कारो रुपमा देखिएको छ । आत्महत्या गर्नुपर्ने अवस्थासम्म एक महिलालाई पुराउने भूमिका कोइराला, बलात्कार प्रकरणमा मिलापत्र गराउनुपर्छ भन्ने गगन पुरी लगायतलाई पनि कानुनी कारवाहीको दायरामा ल्याउनुपर्ने देखिएको छ ।













प्रतिक्रिया दिनुहोस्