विराटनगर, कात्तिक ८ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मोरङ ३ निकै चर्चामा रहेको छ । नेकपा एमालेका स्थायी कमिटी सदस्य, पूर्वस्वास्थ्यमन्त्री भानुभक्त ढकालको निर्वाचन क्षेत्र मोरङ ३ मा कांग्रेस महासमिति सदस्य तथा मेडिकल व्यवसायी सुनिल शर्मा र राप्रपा नेतृ तथा अभिनेत्री रेखा थापा उम्मेदवार बन्नुभएको छ । अघिल्लो निर्वाचनमा बिजयी ढकाललाई ब्यापारी शर्मा र अभिनेतृ थापा प्रतिस्पर्धी हुनुहुन्छ ।
मोरङ ३ मा २०७४ को चुनावमा एमालेका ढकाल र कांग्रेसका शर्माबीच प्रतिस्पर्धा भएको थियो । ढकालले १९ सय सात मतले शर्मालाई पराजित गर्नुभएको थियो । ढकालले ४२ हजार चार सय १३ र शर्माले ४० हजार पाँच सय ६ मत प्राप्त गर्नुभएको थियो । यसपटक पनि ढकाल एमालेबाट र कांग्रेसबाट शर्मा दोहोरिनु भएको छ भने राप्रपाबाट रेखा थापाको प्रवेशले चुनावी माहोल तताएको छ ।
त्यसमाथि थापाले अभिनय शैलीमा मत मागेर मतदाताको मन जित्ने कोषिश गरिरहेपछि चर्चामा रहेको छ । थापाको बढ्दो सक्रियताले क्षेत्र नम्बर ३ मा बेग्लै माहोल सिर्जना गरिदिएको छ । जन्मथलो यही क्षेत्रमा भएकी थापाले मतदातालाई रिझाउन गरिरहेको प्रयासले शर्माकै मत काटिने आँकलन सो क्षेत्रका मतदाताले गरिरहेका छन ।
थापाले स्वास्थ्य, शिक्षा निःशुल्क, गुणस्तरीय शिक्षा, रोजगारी सिर्जना, तटबन्ध, विकास निर्माण, यस क्षेत्रका जनताको जीवनस्तर उकास्नुलाई चुनावी मुद्दा बनाउनु भएको छ । गोठगाउँमा जन्मिनुभएकी थापाले हरेक टोलमा पुग्ने योजना बनाउनु भएको छ । यो निर्वाचन क्षेत्रमा पार्टीको मत कम भए पनि रेखालाई व्यक्तिगत भोट आउने राप्रपाको आस छ । घरदैलोमा थापाको क्रेजले भीड लाग्ने गर्छ । जस स्वरुप उहाँले आफ्नो कुराहरु खुलर राख्न पाउनु भएको छ ।
एमालेको गढ मानिएको यस क्षेत्रमा उम्मेदवार बन्नुभएका पूर्वस्वास्थ्यमन्त्री ढकाल आफ्नो सहजै जीत हुनेमा ढुक्क हुनुहुन्छ । गत स्थानीय निर्वाचनमा गठबन्धनलाई परास्त गरेको अधिकांश पालिका ढकालकै निर्वाचन क्षेत्रमा पर्दछ । अघिल्लो निर्वाचनपछि जनतामा नआएको भनेर ढकालको टीकाटिप्पणी हुने गरेको छ ।
‘जोसुकै नागरिकले पनि आफूले जिताएर पठाएका जनप्रतिनिधिसँगै यही निर्वाचन क्षेत्रमा बसिदिए हुन्थ्यो भनेर सोच्नु, नजिकै हुन पाए हुन्थ्यो, आफ्ना कुरा सिधासिधी राख्न पाए हुन्थ्यो भन्नुलाई स्वाभाविक रूपमा लिएको छु । तर, नागरिकले के बुझ्नु भएको छ भने राजकीय रूपमा काम गरेको व्यक्ति अलिक व्यस्त हुन्छ । कानुन निर्माणको काममा लाग्नु पर्छ भन्ने पनि उहाँहरूलाई थाहा छ,’ ढकालले भन्नुभयो, ‘हाम्रो मान्छे हो, घुलमिल भएन, पहुँच पुगेन भन्ने नागरिकका गुनासाहरू आएका थिए त्यो सम्बोधन हुँदै गएका छन् । मबाट भएका केही कमीकमजोरी छन् भने त्यसलाई सुधार गर्नुपर्छ, गर्छु । नागरिकले मेरो बारेमा पनि राम्रो बुझ्नु भएको छ र मैले पनि नागरिकका समस्यालाई राम्रोसँग बुझेको छु ।’
यता ब्यापारीसमेत रहनुभएका प्रतिस्पर्धी शर्माले सडक, सिँचाइ, खानेपानीको सहज सुविधा र गरिब समुदायकालाई चिकित्सा शिक्षामा निःशुल्क अध्ययन, युवालाई रोजगारी र खोलाको कटान जस्ता समस्यालाई चुनावी मुद्दा बनाउनु भएको छ ।
अघिल्लो निर्वाचनमा एकढिक्का देखिएको कांग्रेसमा महाधिवेशन र स्थानीय तह निर्वाचनमा संस्थापन पक्ष र इतर पक्षबीचको असन्तुष्टिको तुष मेटिसकेको छैन । यद्यपि शर्मा भने १४औं महाधिवेशनमा उत्पन्न अन्तद्र्वन्द्व निर्वाचनको मुखमा साम्य हुँदै जाने बताउनु हुन्छ ।
अभिनेत्री रेखा थापा एकपटक सेवा गर्ने मौका दिए जनताले गौरव गर्ने जनप्रतिनिधि बनेर देखाउने बताउनु हुन्छ । उहाँले आफू आश्वासन र झुटको राजनीति गर्न कहिल्यै नजान्ने र बोलेका कुराहरू पूरा गर्ने बताउनु भयो । आफूले जितेमा निर्वाचन क्षेत्रको विकासको लागि शिक्षा, स्वास्थ्य, खानेपानी, सुकुम्बासी समस्यालगायतका क्षेत्रमा थुप्रै काम गर्ने रेखाको दावी छ ।
यस क्षेत्रमा नौ दल र ६ स्वतन्त्र गरी १५ जना उम्मेदवार चुनावी मैदानमा छन। यस क्षेत्रमा जिल्लाका ६ वटै क्षेत्रमध्ये सबभन्दा बढी एक लाख ४९ हजार आठ सय ३३ मतदाता छन । क्षेत्र नम्बर ३ मा सुन्दरहरैचा, बेलबारी, पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिकाका २६ वटा वडा पर्छन ।
गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेले क्षेत्र नम्बर ३ अन्तर्गतका चारवटै स्थानीय तहको प्रमुख पदमा विजयी भएको छ । बेलबारी नगरपालिकाको उपप्रमुखबाहेक एमालेले तीन पालिकाको प्रमुख–उपप्रमुखसहित बहुमत वडाध्यक्ष जितेको छ । वडाध्यक्षले २६ वटा वडामा पाएको मतका आधारमा एमाले गठबन्धनभन्दा अगाडि छ । एमालेले वडागत रुपमा ३७ हजार ४१० मत प्राप्त गरेको छ ।
नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले वडागत रुपमा ३७ हजार ७६ मत प्राप्त गरेको छ । एमालेले १४ वटा वडाध्यक्ष जित्दा कांग्रेसले ११ वडामा जित हासिल गरेको छ । एउटा वडा स्वतन्त्रले जितेको छ । क्षेत्र नम्बर ३ मा माओवादीले सात हजार तीन सय ७३, राप्रपाले दुई हजार १२१ मत ल्याउँदा एकीकृत समाजवादीका वडाध्यक्षका उम्मेदवारले एक हजार ८५५ मत ल्याएका थिए ।













प्रतिक्रिया दिनुहोस्