जनता टाइम्स

७ कार्तिक २०७९, सोमबार २०:४५

भारतीय मुलका ऋषि बन्ने भए बेलायतका प्रधानमन्त्री


लन्डन, कात्तिक ७ । संयुक्त अधिराज्य बेलायतमा पहिलो पटक भारतीय मूलका व्यक्ति प्रधानमन्त्री बन्ने हुनुभएको छ । ४२ वर्षीय ऋषि सुनक सोमबार कन्जरभेटिभ पार्टीको नेतामा निर्विरोध भएसँगै उहाँ बेलायतको नयाँ प्रधानमन्त्री बन्न लागेको बिबिसीले जनाएको छ।

उम्मेदवारी दर्ताको अन्तिम समयमा अर्की दाबेदार पेनी मोर्डन्ट नेतृत्वको दौडबाट बाहिरिएपछि प्रधानमन्त्रीको कुर्सीमा पुग्ने ऋषिको बाटो खुलेको हो। कुनैबेला भारतलाई उपनिवेश बनाएको बेलायतमा पहिलो पटक भारतीय मूलका ऋषि प्रधानमन्त्री बनेर नयाँ इतिहास रच्न लाग्नुभएको हो ।

बोरिस जोन्सनको सरकारमा अर्थमन्त्री रहेका ऋषि सात हप्ताअघि भएको कन्जरभेटिभ पार्टीको नेताको चुनावमा लिज ट्रससँग पराजित हुनुभएको थियो । तर प्रधानमन्त्रीका रूपमा ट्रसले ४५ दिनभन्दा बढी काम गर्न सक्नुभएन। त्यसपछि ऋषि फेरि प्रधानमन्त्रीको दौडमा सामेल हुनुभएको हो ।

ऋषिका हजुरबुबा-हजुरआमा भारतको पञ्जाबबाट पूर्वी अफ्रिका जानुभएको थियो । केन्याबाट उहाँको परिवार बेलायतको साउथएम्पटोन सरेको थियो । ऋषिका बुवा बेलायतको स्वास्थ्य सेवामा काम गर्नुहुन्थ्यो भने आमा फार्मेसिस्ट हुनुहुन्थ्यो ।

सन् १९८० मा जन्मिनु भएका ऋषिले अक्सफोर्ड विश्वविद्यालयमा राजनीति शास्त्र पढनु भएको हो भने अमेरिकाकाको स्ट्यान्डफोर्ड विश्वविद्यालयबाट एमबिए गर्नुभएको छ। भारतसँग ऋषिको पुर्ख्यौली साइनोमात्र छैन, अहिले पनि पारिवारिक सम्बन्ध छ।

उहाँले भारतीय अर्बपति एवं इन्फोसिसका सहसंस्था एनआर नारायणमुर्थीकी छोरी अक्षता मुर्थीसँग विवाह गर्नुभएको छ । अक्षताको अहिले पनि भारतीय नागरिकता छ। सोही कारणले केही समयअघि बेलायतमा कर तिर्ने विषयमा उहाँ विवादमा पर्नुभएको थियो । प्रधानमन्त्रीका रूपमा ऋषिले संकटोन्मुख बेलायती अर्थतन्त्रलाई सही दिशामा ल्याउनु पर्ने चुनौती रहेको छ।