जनता टाइम्स

८ कार्तिक २०७९, मंगलवार ०९:२६

रामेछापका एमाले उम्मेदवारको दाबी : योजनाबद्ध विकासको काम एमालेबाट मात्र सम्भव


काठमाडौं, ८ कात्तिक । रामेछापबाट प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा एमालेबाट उम्मेदवार बन्नुभएको नेताहरूले रामेछाप जिल्लाको योजनाबद्ध विकासको योजना आफूहरूसँग रहेको बताउनुभएको छ । रामेछाप–काठमाडौं पत्रकार समाजले सोमबार आयोजना गरेको अन्तरक्रियामा मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्यका उम्मेदवार कैलाशप्रसाद ढुङ्गेल, प्रदेश सभा सदस्यका उम्मेदवार शान्तिप्रसाद पौडेल र मिलनकुमार घिसिङले रामेछाप विकासको गुरुयोजना आफूहरूसँग रहेको बताउनुभयो ।

उहाँहरूले रामेछाप विकासको मास्टर प्लान आफूहरूसँग रहेको बताउनुभयो । जिल्लाको योजनाबद्ध विकासको जग आफू जिल्ला विकास समितिको सभापति हुँदा बसाएको प्रतिनिधि सभा सदस्यका उम्मेदवार कैलाशप्रसाद ढुङ्गेलले बताउनुभयो । ढुङ्गेलले आफू वाग्मती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री रहँदा जिलाको विकासमा धेरै काम गरेको उदाहरण पेश गर्नुभएको थियो ।

आफ्नो पालामा जिल्लामा ७० किलोमिटर सडक कालोपत्रे भएको उहाँले बताउनुभयो । त्यस्तै पुल, कवर्ड हल, चिस्यान केन्द्र, अस्पताल, विद्यालय, खानेपानी, कृषि लगायतका क्षेत्रमा काम भएको ढुङ्गेलले सुनाउनुभयो । आफूले सुरु गरेका कतिपय योजना गठबन्धनले काटिदिएको बताउँदै ती काम पूरा गर्न र विकासका नयाँ काम गर्न आफूले उम्मेदवारी दिएको ढुङ्गेलले बताउनुभयो । प्रदेश (क) का उम्मेदवार शान्तिप्रसाद पौडेलले रामेछापको योजनाबद्ध विकासको गुरुयोजना एमालेको जिल्ला विकास समिति बन्दा २०५४ सालबाट सुरु भएको बताउनुभयो ।

विधिको शासन, सुशासन र जनमैत्री कानुन निर्माणको लागि आफू प्रदेश सभामा जान लागेको उहाँले प्रष्ट पार्नुभयो । प्रदेश सभा (ख) का उम्मेदवार मिलनकुमार घिसिङले आफ्नो सामाजिक क्षेत्रको अनुभव राजनीतिक क्षेत्रमा मिसाएर नागरिकको सेवा गर्न निर्वाचन लड्न लागेको बताउनुभयो । आफू निर्वाचित भएपछि पछाडि पारिएका समुदायको हितमा सधैँ काम गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । जिल्लाको योजनावद्ध विकास आफूहरूले नै सुरु गरेको र प्रदेश सरकारबाट आफूहरूले थालेका विकासका अधूरा काम पूरा गर्न चुनावी मैदानमा होमिएको उहाँहरुको भनाइ छ ।

उम्मेदवार ढुंगेलले आफू बागमती प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री रहँदा जिल्लाका दुबै क्षेत्रमा समान बजेट पठाएको दाबी गर्नुभयो । उहाँले आफू जिल्ला विकास समितिको सभापति भएकै बेला रामेछापको योजनाबद्ध विकासको गुरुयोजना बनेको र त्यही योजना अनुसार अहिले विकास भइरहेको बताउनुभयो । रामेछाप काठमाडौं पत्रकार समाजका अध्यक्ष दीपेन्द्र गुरुङले सबै दलका उम्मेदवारलाई एकै ठाउँमा राखेर अन्तरक्रिया गर्न खोजिएको भएपनि अन्य दलबाट उम्मेदवार बनेकाहरु एकैसमय उपस्थित हुन नसक्ने भएकाले फरक–फरक समयमा अन्तरक्रिया गर्न लागिएको बताउनुभयो ।