जनता टाइम्स

९ कार्तिक २०७९, बुधबार ०८:३३

निश्वार्थ भावले समाजको उन्नति र प्रगतिका लागि अग्रसर रहन सबैमा प्रेरणा मिल्ने राष्ट्रपतिको विश्‍वास


काठमाडौं, कात्तिक ९ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संवत् ११४३ प्रारम्भ भएको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

राष्ट्रिय विभूति शंखधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल संवत् चन्द्र मास गणना गरेर तय गरिने मौलिक राष्ट्रिय संवत् रहेको राष्ट्रपतिले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।

यस संवत्‌को पहिलो दिन कार्तिक शुक्लपक्ष प्रतिपदाबाट सुरु हुन्छ । यस दिनलाई नेपाल संवत्‌को नयाँ वर्षको रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे र दोलखा लगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानहरूमा भव्यताका साथ मनाउने गरिन्छ ।

लिच्छवी राजा राघवदेवको समयमा काठमाडौँ उपत्यकामा रहेका किसान तथा गरीब जनतालाई ऋणमुक्त गरी शंखधर साख्वाले यस संवत्‌लाई प्रचलनमा ल्याएको मानिन्छ ।

‘नेपाली समाज सभ्य र सहिष्णु समाज हो‚ हाम्रा चाडपर्व र यस खालका असल परम्पराहरूले यसलाई थप सुदृढ बनाउँदै लगेका छन्,’ राष्ट्रपतिले भन्नुभएको छ, ‘राष्ट्रिय विभूति साख्वाको उक्त लोककल्याणकारी तथा परोपकारी कार्यको स्मरण गर्दै आजको दिनमा निस्स्वार्थ भावले समाजको उन्नति र प्रगतिका लागि अग्रसर रहन हामी सबैमा प्रेरणा मिल्ने विश्‍वास व्यक्त गर्दछु ।’