जनता टाइम्स

१० कार्तिक २०७९, बिहीबार ०९:१०

बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि भाइटीका लगाउन सुरु


काठमाडौं, कात्तिक १० । आज यमपञ्चक अर्थात तिहारको मुख्य दिन बालगोपालेश्वर मन्दिर दिदीबहिनी नहुनेका लागि आज एक दिनका लागि काठमाडौँको रानीपोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुला गरिएको छ ।

बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुने भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् । यस अवसरमा रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि भाइटीका लगाउन सुरु गरिएको छ ।

भूकम्प र कोरोना महामारीका कारण पछिल्ला केही वर्षमा भने बालगोपालेश्वर मन्दिरमा भाइटीका प्रभावित भएको थियो । काठमाडौंको रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिर आज बिहानै खुलेको छ । काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार बिहान ५ बजेबाट मन्दिर खुलेको छ । उहाँका अनुसार मन्दिर वर्षमा एक दिन भाइटीकाका दिनमात्र खुल्ने गर्छ ।

भक्तजनले बिहानदेखि बेलुकीसम्म पूजा आराधना एवं दर्शन गर्न पाउने छन् । दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाई बालगोपालेश्वर मन्दिरमा गएर पूजा आराधना गरेर टीका लगाउने गर्छन् । २०७२ वैशाख १२ गतेको भूकम्पका कारण क्षतिग्रस्त बनेको मन्दिर पुनर्निर्माण गरिएको हो ।

प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ ।