भक्तपुर, कात्तिक १० , नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले हरेक चाडपर्वहरूको महत्त्व फरक फरक हुने भन्दै चाडपर्वहरूको संरक्षण र संवर्द्धन गर्न जरुरी रहेको बताउनु भएको छ ।
तिहारको उपलक्ष्यमा बहिनीहरूबाट भाइटीका लगाएपछि नेता ओलीले यस्तो प्रतिक्रिया दिनुभएको हो । अध्यक्ष ओलीले बिहीबार भाइटीकाको दिन आफ्ना तीन जना बहिनीहरूसँग टीका लगाउनु भएको थियो ।
अध्यक्ष ओलीले हजारौँ वर्ष लगाएर संरक्षण गरिएका चाडपर्व र इतिहासलाई सबै नेपालीहरू ले संरक्षित गर्नु र संवर्द्धन गर्नु अहिलेको आवश्यक्ता भएको बताउनु भयो । आजको समय किंवदन्तीको नभइ, तथ्य र तथ्यांकको भएकाले चाडपर्वमा रहेका कमजोर पक्षहरूलाई हटाउनु पर्ने पनि ओलीले बताउनु भयो ।
यस्तो छ ओलीको भनाई
हाम्रा चाढपर्व अत्यन्त महत्त्वपूर्ण छन् । मलाई पनि विभिन्न ठाउँबाट मेरा दिदिबहिनीहरू आएर टीका लगाइदिनुभएको छ । मैले पनि टीका लगाइदिएको छु । आज भाइटीकाको दिन हुँदैनथ्यो भने दिदिबहिनीहरूसँग यस्तो भेटघाट हुँदैन थियो । यो भेटघाट भाइटीकाको कारणले सम्भव छ । चाडहरू विशेष अर्थ र महत्त्व हुन्छन् । यो पनि विशेष अर्थ र महत्त्वको छ ।

यिनीहरूको संरक्षण र सही अर्थको सदुपयोग गर्न जरुरी छ । हाम्रो संस्कृति, सभ्याता इतिहास संरक्षण गर्न जरुरी छ । हजारौँ वर्ष लगाएर संरक्षण गरिएका चाड, पर्व इतिहासहरूलाई हामीले संरक्षित गर्नु र संवर्द्धन गर्न जरुरी छ । कमजोर पक्ष छन् भने हटाउन जरुरी छ । आजको जमाना किंवदन्तीको होइन, डेटाको हो । तथ्य, तथ्यांक, प्रमाण, तर्कको जमाना हो, अन्धविश्वासको होइन । त्यसैले हामी तथ्यमा र विश्वासमा जान चाहन्छौँ । हामीले कुनै पनि कुरालाई तथ्यसंगत अघि बढाउन जरुरी छ ।













प्रतिक्रिया दिनुहोस्