काठमाडौं, ११ कात्तिक । मधेस केन्द्रीत राजनीति गरेका मधेसकै मुद्दा उठाइरहने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) शिर्ष नेता नै मधेसमै सुरक्षित नरहेको पाइएको छ । यो दलका शिर्ष भनिएका नेता अध्यक्ष महन्थ ठाकुर, शरतसिंह भण्डारी, राजेन्द्र महतो र अनिलकुमार झाले सर्लाही, महोत्तरी र धनुषाबाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिनुभएको छ ।
यी मध्ये शरतसिंह भण्डारी, राजेन्द्र महतो मात्र गृह जिल्ला महोत्तरी र सर्लाहीबाट चुनाव लड्दै हुनुहुन्छ । महन्थ ठाकुरको गृह जिल्ला सर्लाही हो, तर उहाँ आफ्नो गृह जिल्लामा लगातार पराजित भएपछि २०७४ को निर्वाचनमा महोत्तरी–३ बाट नेपाली काँग्रेसको सहयोगमा जित हासिल गर्नुभएको थियो । काँग्रेसले आफ्नो उम्मेदवार बजरंग नेपालीको उम्मेदवारी निश्कृय पारेर महन्थलाई सघाएको थियो ।
त्यसैगरी धनुषा –३ मा राजेन्द्र महतोलाई एमालेले अन्तिम अवस्थामा सघाउने निर्णय गर्दा उहाँले काँग्रेस नेता विमलेन्द्र निधिलाई पराजित गर्नुभएको थियो । त्यसैगरी अनिलकुमार झाले २०७४ मा आफ्नै गृह जिल्ला रौतहट –१ बाट निर्वाचित हुनुभएको थियो । तर, यसपटक राजेन्द्र र अनिलको निर्वाचन क्षेत्र फेरिएको छ । अनिलकुमार झाले रौतहट–१ मा माधव नेपालका लागि छाड्दै आफू भने राजेन्द्रले जितेको ठाउँ धनुषा ३–मा सर्नु भएको छ भने राजेन्द्र आफ्नै गृह जिल्ला सर्लाही फर्कनु भएको छ । भण्डारी र ठाकुर महोत्तरीको निर्वाचन क्षेत्र नं. २ तथा ३ बाट प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।
अनिलकुमार झालाई धनुषा –३ विरानो ठाउँ हो भने एमालेले यो ठाउँमा स्थानीय उम्मेदवारकारूपमा जुली महतोलाई मैदानमा उतारेको छ । २०७४ मा जुली उम्मेदवार हुनुहुन्थेन भने दोश्रो संविधान सभामा जुलीले यही क्षेमा विमलेन्द्र निधिसँग कडा टक्कर गर्दै झिनो मतले पराजित हुनुभएको थियो । यसपटक गठबन्धनको साझा उम्मेदवारको उम्मेदवारकारूपमा झा मैदानमा भए पनि काँग्रेसभित्रको भाँडभैलो, वागी, विद्रोही उम्मेदवार तथा उहाँ आफै पनि यहाँ भूगोलसँग राम्रो परिचित नहुनुले स्थिति प्रतिकुल छ ।
त्यसैगरी एमाले उम्मेदवार जुलीलाई सहज अवस्था देखिन्छ । जनकपुर उपमहानगरपालिकासमेत रहेको यो क्षेत्रमा गत स्थानीय निर्वाचनमा जनकपुरमा काँग्रेसको वागी उम्मेदवारले जित्नुभएको छ एमाले झिनो मतले पराजित भएको थियो । यो क्षेत्रमा लोसपाभन्दा जसपा बलियो हुनु पनि जुलीका लागि थप सहजता बनेको छ । एमाले एक्लै पनि यस क्षेत्रमा बलियो देखिनु र त्यसमा जसपा थपिनुले जुलीका लागि सहज र झाका लागि प्रतिकुल बन्नुको मुख्य कारण हो ।
त्यसैगरी महोत्तरी –३ मा महन्थ ठाकुर २०७४ मा भारी मतले जित्नु हुँदा यो क्षेत्रमा लोसपाको बलियो स्थिति थियो । तर, गत स्थानीय निर्वाचनको परिणामलाई हेर्ने हो भने लोसपा लगभग खोज्नु पर्ने अवस्थामा पुगेको छ । यो क्षेत्रमा जसपा पहिलो, काँग्रेस दोश्रो, एमाले तेश्रो र लोसपा चौथो रहेको स्थिति छ, गत स्थानीय निर्वाचनको आँकडाले । एमाले –जसपा तालमेलमा यो क्षेत्र जसपाको भागमा परेको छ, उम्मेदवार हुनुहुन्छ जसपाका नेता हरिनारायण यादव ।
लोसपा अध्यक्ष ठाकुरलाई असहजता थप्नुभएको छ सोही पार्टीबाट अलग भई तराई–मधेस लोकतान्त्रिक पार्टी पुनरर्गठन गर्नुभएका बृषेशचन्द्र लालले । सो क्षेत्रबाट एक कार्यकाल प्रतिनिधित्व गर्दा केही काम गरेको नदेखिनु, गत स्थानीय निर्वाचनमा लोसपाको खस्दो अवस्था हुनु, काँग्रेसमा चर्को असन्तुष्टि बढ्नु ठाकुरका प्रतिकुलता हुन् ।
महोत्तरी –२ बाट लोसपाका शिर्ष नेता मध्येकै एक शरतसिंह भण्डारी उम्मेदवार हुनुहुन्छ । यसअघि पनि उहाँ यही क्षेत्रबाट नेपाली काँग्रेसकी नेतृ किरण यादवलाई पराजित गर्दै प्रतिनिधि सभामा निर्वाचित हुनुभएको थियो । गत स्थानीय निर्वाचनमा यो क्षेत्रमा पनि लोसपाले राम्रो पर्दशन गर्न सकेन । जम्माजम्मी ६ ओटा वडामा मात्र लोसपाले जितेको छ । उहाँलाई यस पटक एमालेका डा. रामपरिक्षण यादवले कडा टक्कर दिनुहुने भएको छ ।
भण्डारीसँग यस क्षेत्रमा ब्यापक असन्तुष्टि हुनु, लोसपालाई क्षेत्र छाड्दा काँग्रेसमा पनि ब्यापक असन्तुष्टि बढ्नु, यादव बहुल क्षेत्रमा गैर–यादव उम्मेदवार हुनु भण्डारीका प्रतिकुलता हुन् । त्यस्तै एमाले उम्मेदवार यादव लामो समय जनकपुरमा चिकित्सा पेशा अपनाएर बसेकाले र पहिलो पटक राजनीतिमा आउनुभएका आफ्नै समुदायको फ्रेस उम्मेदवार हुनुले कुनै समय शेरे महोत्तरीको नामले चिनिने भण्डारीलाई एमाले उम्मेदवार डा. यादवले पराजित गरे अचम्म नहुने स्थानी बताउँछन् ।
सर्लाहीमा राजेन्द्रको पनि उस्तै अवस्था छ । उहाँलाई एमालेको चुनौती त छ नै त्योभन्दा बढी केही अघिसम्म लोसपाको शिर्ष नेता रहेका महेन्द्र यादवको चुनौती छ । महेन्द्र यादव माओवादीको चुनाव चिन्ह लिएर मैदानमा हुनुहुन्छ । लोसपा र जसपा छुट्टिदाँ जसपा रोज्नु भएका यादव, जसपामा पनि विद्रोह गरी बाबुराम भट्टराईसंगै छुट्टै पार्टी खोल्ने प्रमुख नेता हुनुहुन्छ ।
एउटै जिल्लाका महेन्द्र र राजेन्द्रको यो दोश्रो आमनेसामने चुनावी भिडन्त हो । यसअघि यसै क्षेबाट महेन्द्रले राजेन्द्रलाई परास्त गर्नुभएको थियो । यस्तो चुनावी अवस्थासँगै मधेसमा अब लोसपाको भविश्यकै बारेमा विभिन्न टिप्पणी हुन लागेको छ ।













प्रतिक्रिया दिनुहोस्