कास्की, कात्तिक १२ । एकीकृत समाजवादी पार्टी कास्कीका सचिव होमबहादुर नेपालीले चुनावपछि नेकपा एकीकृत समाजवादी भन्ने पार्टी सकिने घोषणा गर्नुभएको छ ।
माधव नेपाल र झलनाथ खनालले एमाले सकाउने मिसनका लागि सो पार्टी खडा गरेको तथ्य प्रमाणित भइसकेको कारण सो पार्टी मंसिर ४ को चुनावसँगै सकिने उदघोष गर्नुभएको हो । उहाँले माधव र झनाथको एमाले सकाउने नाटकमा निरीह पात्र बन्नुपर्दा आफूलाई दुखानुभूति भएको पनि बताउनु भयो ।
शनिबार नेकपा एस परित्याग गरी नेकपा एमालेमै फर्किनु भएका नेपालीले अब नेकपा एस भन्ने पार्टी नेपालमै नरहने बताउनु भयो । ‘माधव नेपाल र झलनाथ खनालको नाटक मञ्चनको पात्र म पनि भएँ । एक वर्षमा धेरै बुझेँ, भोगेँ । थुप्रै कुराहरु उजागर भए, अव नेकपा एस भन्ने पार्टी रहन्न,’ नेपालीले भन्नुभयो, ‘अबको चुनावमा जो गठबन्धनबाट जित्छन, तिनीहरू मात्र त्यो पार्टीमा रहनेछन ।’
नेकपा एसको केन्द्रीय प्रतिनिधि सदस्यसमेत रहेका नेपालीले आफूमात्रै एमालेमा नफर्किएको बताउँदै भन्नुभयो, ‘आज म एक्लै आएको छैन । हजारौँ फर्किनेछन् । विधि र पद्धतिका कुरा गर्ने, आफै सांगठनिक पद्धतिमा नचल्ने त्यस्तो पार्टीमा कोही बस्ने छैनन् । एमाले सक्ने उहाँहरूको योजना सफल हुन पनि दिने छैनौँ ।’
उहाँले विगतमा जानअञ्जान भएको गल्ती महसुस गर्दै अब हिजोका सहयोद्धासँगै एकसाथ यात्रा गरेर एमालेलाई मजबुत बनाउन लागि पर्ने सङ्कल्प गर्नुभयो । नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाह नै नेकपा एमाले भएको उहाँको भनाइ छ ।
उत्पीडित जातीय मुक्ति समाज, निर्वाचन परिचालन उपसमिति कास्की क्षेत्र नं. २ ले शनिबार आयोजना गरेको कार्यकर्ता भेलामामा उहाँ एमालेमै फर्किनु भएको हो । विगतमा नेकपा एमालेमा रहँदा नेपाली कास्की जिल्ला कमिटी सदस्य तथा मुक्ति समाजको केन्द्रीय सदस्यको जिम्मेवारीमा हुनुहुन्थ्यो ।

कार्यक्रममा एमाले कास्कीका इञ्चार्ज एवम केन्द्रीय सदस्य कृष्ण थापाले मुक्ति आन्दोलनका नेता नेपाली पुनः घर फर्किदा आफू हर्षित बनेको बताउँदै बाहिर रहेका सबैका लागि ढोका खुला रहेको र विशाल हृदयले स्वागतका लागि आतुर रहेको बताउनु भयो । सबै एक भएर सूर्य चिह्नवाहक उम्मेदवारलाई भारी मतले जिताउनुपर्नेमा थापाले जोड दिनुभयो ।
यस्तै कास्की क्षेत्र नं. २ (क) का उम्मेदवार एवम एमाले केन्द्रीय सदस्य भीम कार्कीले एमालेको महत्वपूर्ण खम्बा नेपालीलाई स्वागत गर्दै एउटा समुदायलाई पछाडि पारेर समाज र देश विकास सम्भव नभएकाले विगतका विभेदको क्षतिपूर्तिसहित सँगसँगै हातेमालो गरेर एमाले अघि बढिरहेको बताउनु भयो ।
कास्की क्षेत्र नं. २ (ख) की उम्मेदवार मीना गुरूङले उत्पीडित दलित उत्पीडित वर्गको पार्टी नेकपा एमाले भएकाले पार्टीमा उत्पीडित वर्गको सहभागिता अपरहार्य रहेको बताउनु भयो ।
कार्यक्रममा संघीय समानुपातिक उम्मेदवार नन्दकला नेपाली क्षेत्रका समानुपातिक उम्मेदवार डा. छममाया पुन, एमाले कास्की सचिव बैन बहादुर अधिकारी क्षेत्री, मुक्ति समाज केन्द्रीय सचिव धनबहादुर नेपाली, जिल्ला सचिवालय सदस्य भेषराज बराललगायतले एमालेलाई जिताउन अपिल गर्नुभयो ।
निर्वाचन परिचालन उपसमिति क्षेत्रीय संयोजक मनबुजा विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा समाजका केन्द्रीय सदस्य किसान परियारले स्वागत एवम् पार्टी प्रदेश कमिटी सदस्य बलराम गायकले सञ्चालन गर्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्