झापा, कात्तिक ११ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले घोषणापत्रमा भुट र बेइमानीको खेती गरेको बताउनु भएको छ । कांग्रेसले घोषणापत्रमा रेलमार्ग निर्माणको विषय राखेर बेइमानीको प्रमाण दिएको अध्यक्ष ओलीले बताउनु भयो ।
आफ्नो निर्वाचन क्षेत्र झापाको दमकमा आज आयोजित एमाले र राप्रपाको संयुक्त चुनावी सभामा बोल्दै अध्यक्ष ओलीले कांग्रेसले जनतालाई झुक्क्याउन रेलमार्ग निर्माण गर्ने घोषणापत्रमा लेखेको ठोकुवा गर्नुभयो ।
‘हामीले पूर्वपश्चिम रेलमार्ग निर्माणको काम अघि बढाउँदा उडाएर हाँस्ने काँग्रेसले नै अहिले आफ्नो घोषणापत्रमा जनतालाई झुक्क्याउन रेलमार्ग निर्माण गरिने भनेर लेखेछ । त्यो हामीले गरेका हौं । अहिले रेलमार्गको जग्गाको मुआब्जा वितरणको प्रक्रिया अघि बढाउनै लाग्दा हाम्रो सरकार ढालेका थिए,’ ओलीले भन्नुभयो ।
ठूलो चुनौतीका बीच पनि छोटो समयमा आफ्नो नेतृत्वको सरकारले अस्वाभाविक विकास निर्माण गरेको पनि ओलीले बताउनु भयो । अध्यक्ष ओलीले देशको विकास गर्नका लागि अब एमालेको नेतृत्वको सरकार निर्माण गर्न आवश्यक रहेको पनि प्रष्ट पार्नुभयो ।
गठबन्धनको सरकार अनैतिक र अप्राकृतिक ढंगबाट बनेको तथा भ्रष्टाचार र कमिशनखोरहरुको चङ्गुलबाट चलिरहेको पनि उहाँले बताउनु भयो । एमाले अध्यक्ष ओली केही दिनदेखि गृहजिल्ला झापामा चुनावी अभियानमा हुनुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्