भक्तपुर, कात्तिक १३ । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नं. २ प्रतिनिधी सभाको एमालेका उम्मेदवार महेश बस्नेतले मंसिर ४ को निर्वाचनले सत्ता गठबन्धनलाई जरैदेखि उखेलेर फाल्ने बताउनु भएको छ ।
नेकपा एमाले सूर्यविनायक नगर कमिटी वडा नं. ५ ले आज आयोजना गरेको बृहत कार्यकर्ता भेला तथा उम्मेदवार परिचयात्मक कार्यक्रममा बोल्दै नेता बस्नेतले जनचाहनालाई लत्याउँदै विकासको बजेट कटौती गरी विकासलाई रोक्ने गठबन्धन सरकारलाई आगामी मंसिर ४ गते हुने निर्वाचनमा जनताले जनमत नदिएर सधैंको लागि विदा गर्ने बताउनु भयो ।
दिगो विकासको लागि केपी ओली नेतृत्वको सरकारले मुलुकलाई विकासोन्मुख राष्ट्रको रुपमा स्थापित गराएको बताउदै उहाँले ओली नेतृत्वको सरकारले मुलुकलाई छिट्टै विकसित बनाउने अभियान चलाएता पनि वर्तमान गठबन्धन सरकारले विकास बन्द गराएको बताउनु भयो ।
उहाँले केपी ओली नेतृत्वको सरकारले साना तथा ठूला एवं राष्ट्रिय गौरवका आयोजनाहरु व्यापक मात्रामा सुरु गर्दै विभिन्न प्रकारका भौतिक पूर्वाधार निर्माणका कार्यक्रमहरुले जताततै लहर नै सुरु गरेपनि गठबन्धन सरकार आएसँगै जनताले विकासको कुनै पनि योजना देख्न नपाएको बताउनु भयो ।
नेता बस्नेतले भन्नुभयो, ‘अघिल्लो कात्तिक तथा मंसिरमा जताततै विकासका कार्यहरु भएका थिए । मुलुकमा विकासका पूर्वाधारको उद्घाटन र शिलान्याको लहर चलेको थियो, तर यो सरकार आएसँगै यस वर्ष सबै आयोजनाहरु रोकिएका छन्, जनताले विकास देख्न पाएका छैनन् । देशभरनै विकास होलीडे चलेको छ । सरकारलाई विकासको क्यान्सर लागेको छ, बिकास रोकिएको छ । अब आगामी मंसिर ४ गते जनताको मतले गठबन्धनलाई जरैदेखि उखेलेर फाल्नु पर्छ । त्यसपछि एमालेको सरकार बन्ने छ । जसले विकास प्रति जनताको तिव्र चाहनालाई पुरा गर्नेछ ।’
मंसिर ४ पछि एमालेको नेतृत्वमा सरकार बन्ने ठोकुवा गर्दै उहाँले सरकारले पुनः विकास र समृद्धिको लहर पैदा गर्ने बताउनु भयो । निर्वाचनमा एमालेसँग प्रतिष्पर्धि कुनै पनि पार्टी नभएको भन्दै उहाँले एमालेले चुनाव लड्नको लागि नभई जीतको औपचारिक घोषणाको लागि मात्र मंसिर ४ गते पर्खिएको बताउनु भयो ।

राष्ट्रियताको सवालमा एमाले नेतृत्वको सरकारको पालामा विश्वलाई नेपालको शिर उचो बनाएको स्मरण गराउँदै उहाँले ओली नेतृत्वको सरकारले लिपुलेक, लिपिम्याधुरा र कालापानीसहितको चुच्चे नक्सालाई अहिलेको सरकारले बुच्चे बनाएको आरोप लगाउनुभयो । वर्तमान सरकारले एमसीसी, एसपीपी, राष्ट्रघाती नागरिकता विधियक ल्याई मुलुकलाई सयौं वर्ष पछि धकेल्ने मात्र नभई शक्ति राष्ट्रहरुको खेलमैदानको रुपमा लैजान खोजेको भन्दै उहाँले आगामी निर्वाचनमा राष्ट्रघातीलाई चोट तथा राष्ट्रवादी एमालेलाई जनताले भोट दिनुपर्नेमा जोड दिनुभयो ।
एमाले मुलुक र जनताप्रति शतिसाल झैं उभिएको स्मरण गराउँदै उहाँले गठबन्धनका दलहरुले भक्तपुरका जनतासँग भोट माग्ने नैतिक अधिकार समेत नभएको बताउनुभयो । विकासको बजेट समेत कटौती गरी जनताको भाग्य र भविष्य खेलवाड गर्न खोजेको आरोप लगाउँदै नेता बस्नेतले गठबन्धन दलका उम्मेदवारले भक्तपुरका जनताको माझमा मखुण्डो लगाएरमात्र आउनसक्ने बताउनुभयो ।

निर्वाचनमा सत्ता र शक्तिको दुरुपयोग गरी बुथमा दवाप दिएर अगाडी बढ्ने गठबन्धन दलहरुको योजना आफुहरुलाई जानकारी आएको उल्लेख गर्दै उहाँले भक्तपुरमा दवाप दिएर निर्वाचनलाई विथोल्ने प्रयास गर्ने सपना नदेख्न चेतावनी दिनुभयो । गठबन्धनको दवाब पानीको फोका झैं फुट्ने उल्लेख गर्दै उहाँले तेब्बर मतका साथ सानदार विजयी हुने दावी समेत गर्नुभयो ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य निर्मल भट्टराईले टेको लगाई पार्टीको बैशाखीले नेपाली कांग्रेसले समाजवादको लक्ष्य पुरा गर्न नसक्ने दावी गर्नुभयो । उद्योग बेच्नु नै कांग्रेसको लागि ठूलो उपलब्धी ठान्ने कांग्रेसले एमसीसीलाई सरकारको ठूलो उपलब्धी भन्दै घोषणा पत्रमा नै उल्लेख गर्नु राष्ट्रघाती कदम भएको बताउनुभयो । रेलमार्ग, जलमार्ग, सुरुङमार्गलगायतका एमालेका एजेण्डाहरु कांग्रेसले चोरेको समेत उहाँले आरोप लगाउनुभयो ।
कार्यक्रममा एमाले क्षेत्र नं. २ ‘क’ सूर्यविनायक क्षेत्रका एमालेको उम्मेदवार किरण थापाले आगामी निर्वाचनमा एमालेको नेतृत्वमा विगतमा भएको कामहरुको मूल्याङ्कन नै विजयी हुने महत्वपूर्ण आधार भएको बताउनुभयो । विगतको पाँच वर्ष एमालेको नेतृत्वमा पूर्वाधार विकासमा ठूलो उपलब्धि भएको उल्लेख गर्दै उहाँले आगामी दिनमा विकासको नयाँ भिजन र दृष्टिकोणको आधारमा अगाडी बढ्ने प्रतिवद्धता जनाउनुभयो ।

एमालेका उम्मेदवार योग्य व्यक्ति रहेको दावी गर्दै उहाँले जनताको भाग्य र भविष्यलाई उज्वल बनाउने पार्टी एमालेमात्र भएको दावी गर्नुभयो । गठबन्धनका उम्मेदवारहरुले जनताको पक्षमा हालसम्म केही पनि काम गर्न नसकेको उदाहरण प्रस्तुत गर्दै उहाँले गठबन्धनका उम्मेदवार अब निर्वाचनमा नातावाद र कृपावादमा सिमित भएर एमाले विरुद्ध भ्रम छर्दै आउने भएकाले सचेत रहन आग्रह गर्नुभयो ।
स्वास्थ्य क्षेत्रको आमुल परिवर्तन गर्ने प्रतिवद्धता जनाउँदै उहाँले नगरक्षेत्रमा नै जनताले पाउनुपर्ने आधारभुत स्वास्थ्य उपचारका लागि नगरक्षेत्रभित्र नै सम्पूर्र्ण उपचार हुने व्यवस्था गर्ने प्रतिवद्धता जनाउनुभयो ।













प्रतिक्रिया दिनुहोस्