जनता टाइम्स

१३ कार्तिक २०७९, आईतवार १९:०३

काभ्रेमा एमाले र गठबन्धनबीच मुख्य प्रतिस्पर्धा : यस्तो छ पछिल्लो अवस्था


राजकुमार पराजुली/काभ्रेपलाञ्चोक । प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवार अहिले नगरका विभिन्न भागमा कोणसभामा जुटेका छन् । प्रत्यक्षतर्फ गत कात्तिक २६ गते अन्तिम नामावली प्रकाशन भएलगत्तै नगरमा भेटघाट र घरदैलो थालेका सत्तारुढ गठबन्धन दल तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उम्मेदवार हाल ग्रामीण भेगमा पनि केन्द्रीत भएका छन । केही साना दल र स्वतन्त्र उम्मेदवार पनि भेटघाटमै व्यस्त देखिन्छन ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन आउन तीन हप्ता बाँकी भएसँगै चुनावी रमझम पनि निकै बढेको पाइएको छ । जिल्लाका आम मतदाताको ध्यान प्रतिनिधिसभा क्षेत्र नं १ र २ का उम्मेदवारमा केन्द्रीत भएको छ । निर्वाचनमा सत्तारुढ गठबन्धन तथा प्रमुख प्रतिपक्षी एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

जिल्लाभर प्रतिनिधिसभाका लागि दुई र प्रदेशसभाका लागि चार निर्वाचन क्षेत्र कायम गरिएको छ । प्रतिनिधिसभाका लागि क्षेत्र नं १ मा नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वराज्यमन्त्री रेशम लामा र नेकपा (माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा पूर्वराज्यमन्त्री सूर्यमान दोङबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । विसं २०४७ देखि विद्यार्थी सङ्गठनबाट राजनीति प्रारम्भ गर्नुभएका लामालाई अहिले एमालेले गठबन्धनका उम्मेदवार दोङसँग प्रतिस्पर्धामा उतारेको छ ।

 

राप्रपा, राप्रपा नेपालको विभिन्न तहको नेतृत्व गर्दै २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा राप्रपा नेपालबाट समानुपातिक सांसद बन्नुभएका लामा केही वर्षअघि मात्रै एमाले प्रवेश गर्नुभएको थियो ।

विसं २०४४ मा नेकपा (मसाल)बाट राजनीतिक यात्रा सुरु गर्नुभएका दोङले तत्कालीन नेकपा माओवादीको दश वर्षे सशस्त्र युद्धमा सहभागी हुँदै पार्टीका विभिन्न तहको नेतृत्व गर्नुभएको थियो । गठबन्धनमा माओवादीलाई उक्त क्षेत्र भागमा परेपछि पार्टीले उहाँलाई उम्मेदवार बनाएको हो ।

विसं २०६४ को संविधानसभा सदस्य निर्वाचनमा दोङ कांग्रेसका मधुप्रसाद आचार्य र एमालेका संग्रामजीत लामालाई पराजित गर्दै निर्वाचित हुनुभएकामा २०७० सालकोे दोस्रो पटक संविधानसभा सदस्यको निर्वाचनमा भने नेपाली काग्रेसका तीर्थ लामासँग पराजित हुनुपर्यो ।

यो क्षेत्रमा मुख्य गरी गठबन्धन र एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । एमाले अघिल्ला निर्वाचनमा पराजित भएकामा अहिले १ नं क्षेत्रमा विजेता बन्ने दौडमा लागेको जिकिर गरिरहेको छ भने गठबन्धनका दलहरु पनि आफ्नो बिरासत जोगाउन लागिपरेको छ । उक्त क्षेत्रमा पाँच स्वतन्त्रसहित १७ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

यस्तै प्रतिनिधिसभा क्षेत्र नं २ मा एमालेबाट पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटा र गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य तथा पूर्वजिल्ला सभापति शिवप्रसाद हुमागाईं उम्मेदवार हुनुहुन्छ । दुवैले जिल्लामा पार्टीको नेतृत्व गरेको र केन्द्र र जिल्लामा राम्रो जनसम्पर्क रहेकाले यस क्षेत्रमा कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।

यसैगरी विसं २०३८ मा विद्यार्थी सङ्गठनबाट राजनीतिक यात्रारम्भ गर्नुभएका बाँस्कोटा विभिन्न भातृ सङ्गठन तथा पार्टीको जिल्ला नेतृत्व गर्दै हाल पोलिटब्यूरो सदस्य हुनुहुन्छ । विसं २०७० को संविधानसभा सदस्यमा कांग्रेसका उम्मेदवार कञ्चनचन्द्र बादे श्रेष्ठसँग पराजित बाँस्कोटा २०७४ सालको प्रतिनिधिसको निर्वाचनमा कांग्रेसका मधुप्रसाद आचार्यलाई पराजित गरी मन्त्रीसमेत हुनुभएको थियो ।

अघिल्लो निर्वाचनमा २२ हजार मतान्तरले विजयी हुनुभएका बाँस्कोटाको बिरासत तोड्न गठबन्धन दल चुनावी रणनीति बनाएर अघि बढेको छ । विसं २०३६ मा भएको विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा सुरु गर्नुभएका गठबन्धनका उम्मेदवार हुमागाईं पार्टीका विभिन्न भातृ सङ्गठन हुँदै चार पटकसम्म पार्टीको जिल्ला नेतृत्व गर्नुभएको थियो ।

विसं २०५६ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा हुमागाईं जिल्लाको तत्कालीन २ नं क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । प्रतिनिधिसभा क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा क्षेत्र ‘क’ र ‘ख’ मा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका रत्न ढकाल र कांग्रेसका तीर्थ लामा हुनुहुन्छ । उहाँहरुसँग मुख्य प्रतिस्पर्धी एमालेका दिलिप लामा र चन्द्र लामा हुनुहुन्छ ।

यसैगरी प्रतिनिधिसभा क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा क्षेत्र ‘क’ र ‘ख’ मा गठबन्धनका उम्मेदवार एकीकृत (समाजवादी)का लक्ष्मण लम्साल र कांग्रेसका कञ्चनचन्द्र वादेश्रेष्ठ हुनुहुन्छ । उहाँहरुसँग मुख्य प्रतिस्पर्धी एमालेका कुमार खकुरेल र कुमार थापा हुनुहुन्छ छ । काभ्रेपलाञ्चोकमा छ पदका लागि ६४ जनाले उम्मेदवारी दर्ता गराएकामा दुई महिला र एक दलित उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रनुभएको हो । जिल्ला निर्वाचन कार्यालयका अनुसार हाल जिल्लामा एकतीस दल क्रियाशील छन् ।

जिल्लाका एक लाख ५७ हजार नौ सय ४७ पुरुष, एक लाख ५२ हजार एक सय १४ महिला र अन्य दुई मतदाता गरी कूल तीन लाख १० हजार ६३ मतदाताले मतदान गर्ने छन् । एक सय ९०मतदानस्थलका तीन सय ८९ मतदान केन्द्र तोकिएको छ । (रासस)