विराटनगर, कात्तिक १४ । मोरङ क्षेत्र नम्बर ६ मा नेकपा (एमाले) बाट प्रतिनिधिसभाका लागि लालबाबु पण्डित उम्मेदवार हुनुहुनछ नेपाली कांग्रेसबाट डा. शेखर कोइराला चुनावी मैदानमा हुनुहुन्छ । प्रतिनिधिसभामा दुई चिनिएका अनुहार चुनावी मैदानमा लागेको भएपनि प्रदेशसभामा भने अधिकांश नयाँ अनुहार छन् ।
आफू सत्तामा हुँदा क्षेत्रको विकासका लागि छुट्याएको बजेट देखाएर पण्डित भोट माग्दै हुनुहुनछ भने पार्टीभित्र सभापति शेरबहादुर देउवा इतरको समूहको नेतृत्व गरेका डा. कोइराला चुनावी सत्ता र शक्तिको आडमा मैदानमा हुनुहुन्छ ।
क्षेत्र नम्बर ६ (क)मा नेकपा एमालेबाट रीता न्यौपाने चुनावी मैदानमा हुँदा उहाँको प्रतिस्पर्धी गठबन्धनबाट माओवादी केन्द्रका जीवन आचार्य हुनुहुन्छ । न्यौपाने बुढीगंगामा रहेर विभिन्न सामाजिक राजनीतिक अभियानसँगै शिक्षण संस्था सञ्चालन गर्दै आउनु भएको छ भने आचार्य माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका ज्वाइँ हुनुहुन्छ ।
अघिल्लो आमनिर्वाचनमा उम्मेदवार बने पनि आचार्य पराजित हुनुभयो । तर त्यसपछि अधिकांश समय काठमाडौं रहँदै आएका आचार्य उम्मेदवार बनेपछि क्षेत्रमा प्रचारमा हुनुहुन्छ ।
यसअघि नयाँ अनुहारमा आएका आचार्य ५ वर्षसम्म शक्तिमा रहेका ससुरा प्रचण्डसँगै काठमाडौंमा रहेपनि उहाँले आफ्नो क्षेत्रको विकासमा योगदान नगरेको स्थानीयको आरोप छ । पुनः यसपटक पनि उम्मेदवार बनेपछि प्रचण्डले आफ्नो परिवारभित्रका सदस्यलाई मात्र संरक्षण गर्ने गरेको टीकाटिप्पणी भएको छ ।
यस्तो अवस्थामा आचार्यलाई मतदाता रिझाउन सकस भएको पाइन्छ । आचार्य निर्वाचित भएपनि क्षेत्रमा नआउने डर स्थानीयमा देखिन्छ, भने नेताका ज्वाइँकै मात्र पछि लाग्ने हो भने पार्टीभित्रका अन्यको पालो नआउने भन्दै सो पाटीर्का कार्यकर्ता असन्तुष्ट छन् ।
चुनावी घरदैलोको क्रममा आचार्यले दिएको अभिव्यक्तिले सर्वत्र आलोचना हुँदा उहाँलाई सकस उत्पन्न भएको छ । आचार्यले महिलाप्रति लक्षित गर्दै दिएको अभिव्यक्तिको भिडियो क्लिप सार्वजनिक भएसँगै महिलाहरु उहाँका विरुद्ध संगठित हुँदै गएका छन् । उता क्षेत्रबासी तमाम जनताकी छोरी हुँ भन्दै हिँड्ने रीतालाई आचार्यका गतिविधिले सहज बनाइ दिएको स्थानीयको बुझाइ छ ।
शिक्षित, मेहनती र सधैं जनताका बिचमा बसेर काम गर्ने एकमात्र महिला उम्मेदवारको रुपमा देखिएकी न्यौपानेलाई संरक्षण गर्नुपर्ने मत बढ्दै गएको स्थानीयको भनाइ छ । यता ६ (ख) मा पनि नयाँ अनुहारका रुपमा आएको पर्शुराम बस्नेतभन्दा पुरानै अनुहार उमेदवार बनेका केदार कार्कीलाई सकस देखिएको छ ।
गठबन्धनबाट नेपाली कांग्रेसका कार्की प्रदेश १ को आन्तरिक मामिला मन्त्री हुनुहुन्छ । मन्त्री हुँदा गरेका कामले धेरै पटक विवादमा तानिएपछि उनको लोकप्रियता पार्टीभित्रै खस्कँदो छ । आफु प्रतिपक्षमा हुँदा सरकारको तिब्र विरोध गर्दै लोकप्रियता कमाउन खोजेका कार्कीले मन्त्री भएपछि तीनै विरोध गरेका कामलाई निरन्तरता दिनेदेखि कानुन मन्त्रालयको जिम्मेवारी सम्हालेका उहाँले नै कानुन मिचेर धेरै काम गरेको गम्भीर आरोप लागेको छ ।
जनाधार गुमाउँदै गएका कार्कीले नै टिकट पाएको भन्दै पार्टीभित्र विद्रोह गरेर गोपाल रेग्मीले स्वतन्त्र उमेदवारी दिनुभएको छ । विराटनगरको प्रमुख प्रशासकीय प्रमुख भएर काम गर्दा ऐतिहासिक योगदान गरेको भन्दै चर्चा कमाएका रेग्मी उम्मेदवार बनेपछि कार्कीलाई थप सकस थपिएको हो ।
नेकपा एमालेका उमेदवार पर्शुराम बस्नेतले भने जनाधार बलियो बनाउँदै लगेको मतदाताहरू बताउँछन् । त्यसैले अहिले हरेक चोकमा हुने चिया गफमा समेत बस्नेतको विजय सुनिश्चित रहेको चर्चा सुन्ने गरिन्छ । लामो समयसम्म राजनीतिमा युवाहरुको नेतृत्व सम्हालेका बस्नेत पछिल्लो समय सबैको विश्वास पात्र बन्दै गएको क्षेत्रबासीको ठम्याइ छ ।
मोरङ क्षेत्र नम्बर ६ (१) मा ७८ हजार ९६४ र क्षेत्र (२) मा ४७ हजार ७९७ गरी क्षेत्र नम्बर ६ मा कुल १ लाख २६ हजार ७६१ मतदाता रहेका छन् ।













प्रतिक्रिया दिनुहोस्