जनता टाइम्स

१४ कार्तिक २०७९, सोमबार २०:३८

काठमाडौंमा पनि सून्यमा पुग्ने अवस्थामा पुग्यो माधवको नेकपा एस


काठमाडौं, कात्तिक १४ । नेकपा एकीकृत समाजवादीका काठमाडौं जिल्ला कमिटी सदस्य मनोजकुमार श्रेष्ठसहित छजना नेकपा एमाले मै फर्किनु भएको छ । आज बसुन्धारामा आयोजित एक कार्यक्रमबीच श्रेष्ठसँगै पवन लामा, अनिश गुरुङ, कृष्ण गुरुङ, समिर कार्की र विकास खत्री एमालेमा फर्किनु भएको हो ।

उहाँहरुलाई नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, केन्द्रीय सदस्यहरू नारायण सिलवाल, शान्ति अधिकारी र एमाले काठमाडौंका अध्यक्ष दीपक निरौलालगायतले पार्टीमा स्वागत गर्नुभयो ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले भ्रममा परेर पार्टीबाट बाहिरिएकाहरुलाई पुरानै घर फर्कन आह्वान गर्नुभयो । राजनीतिक र सांगठनिक जीवन अब कतै विचलित नबनाई एमालेलाई साथ दिई देश विकासको अभियानमा लाग्न उहाँले आग्रह गर्नुभयो ।

एमाले प्रवेश गरेका श्रेष्ठले नेकपा एससँग देश विकासको कुनै दृष्टिकोण नभएको भन्दै आफ्नो पुरानै घरमा फर्किएको बताउनु भयो ।

श्रेष्ठले २०७४ सालको निर्वाचनमा काठमाडौं क्षेत्र नं ५ को युवा परिचालनको सचिव भएर काम गर्नुभएको थियो । यस पटक पनि एमाले उम्मेदवारहरू जिताउन युवाहरू परिचालनको नेतृत्व लिने उहाँले बताउनु भयो । उहाँले काठमाडौंसहित अव देशभर नेकपा एस सकिने ठोकुवा पनि गर्नुभयो ।