जनता टाइम्स

१९ श्रावण २०७६, आईतवार १४:२५

सात जिल्लामा खाद्य सङ्कट, वर्षेनी २५ हजार मेट्रिकटन खाद्यान्न अपुग


वीरेन्द्रनगर, साउन १९

कर्णाली प्रदेशका सात जिल्ला वर्षेनी खाद्य सङ्कट हुन्छ । प्रदेशका १० जिल्लामध्ये सात जिल्लामा स्थानीय उत्पादनले तीन महीना पनि खान नपुग्ने भएपछि वर्षेनी खाद्य सङ्कटको समस्या हुने गरेको हो । दैलेख, जाजरकोट, कालिकोट, जुम्ला, हुम्ला, डोल्पा र मुगु खाद्य असुरक्षाको जिल्लामा पर्छ ।

उक्त प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार सुर्खेत, रुकुम र सल्यान खाद्य सुरक्षाको जिल्लामा परेका छन् । कर्णालीमा वर्षेनी २५ हजार मेट्रिकटन खाद्यान्न अपुग हुने गरेको उक्त मन्त्रालयले जनाएको छ । यस प्रदेशमा तीन लाख ५२ हजार मेट्रिकटन खाद्यान्न आवश्यक पर्नेमा तीन लाख २६ हजार ५०० मेट्रिकटन खाद्यान्न मात्र उत्पादन हुने गरेको छ ।

खेतीयोग्य जमीन खण्डीकरण हुनु र जमीन बाँझै राख्नाका साथै सिँचाइको अभाव र उन्नत जातको बीउ अभावका कारण कर्णालीले वर्षेनी खाद्य सङ्कटको समस्या भेल्नुपरेको हो । त्यसैगरी हिमाली जिल्लामा फलफूल र तथा जडीबुटी मात्र उत्पादन हुने भएकाले पनि यी जिल्लामा वर्षेनी बाहिरबाट खाद्यान्न्न आयात गर्नुपर्ने हुन्छ ।

मन्त्रालयका प्रवक्ता हरि पण्डितले कृषि सडक तथा कृषि सिँचाइतर्फ आफ्नै प्राविधिक कर्मचारी नहुँदा समस्या भएको, विभिन्न आयोजना र उपआयोजनाको ‘डिजाइन स्टिमेट’ नहुँदा समस्या भएको बताउनुभयो । भौगोलिक विकटता, स्रोत साधनको कमी, खाद्य तथा पोषणको असुरक्षालगायत चुनौती भएको उहाँको भनाइ थियो ।