जनता टाइम्स

१५ कार्तिक २०७९, मंगलवार १८:२५

सर्लाहीमा उम्मेदवार महिन्द्र यादव र माओवादीबिरुद्ध लाग्यो मुर्दावादको नारा


सर्लाही, कात्तिक १४ । सर्लाही क्षेत्र नम्बर २ का सत्ता गठबन्धनका उम्मेदवार महिन्द्र राय यादवको चुनावी प्रचारमा हिँड्ने स्कार्पियो गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।

नम्बर खुल्न नसकेको सेतो रंगको गाडीले सखुवामा ज १० प १३०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि सोनबरसाका २२ वर्षीय नेक महमद ‌र मलंगवा नगरपालिका ९ का एकरामुल साफीका १० वर्षीय छोरा असलम साफी घाइते भएका थिए । घाइते दुबै जनालाई उपचारका लागि मलंगवा लगिएको थियो । घाइते नेक महमदको उपचारकै क्रममा मृत्यु भएको छ । साफीको उपचार जारी छ ।

ठक्कर दिने गाडी उम्मेदवार यादवको रहेको भन्दै उनीविरुद्ध मलंगवाको सहिद चोकमा प्रदर्शन गरिएको छ । घाइतेका आफन्त र स्थानीयले उम्मेदवार यादव र माओवादीविरुद्ध नाराबाजी गर्दै दोषीमाथि कारबाही र क्षतिपूर्तिको माग गरेका छन् ।

नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका यादव नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर चुनावी मैदानमा छन् । सोही कारण प्रदर्शनकारीले उम्मेदवार यादवर माओवादीबिरुद्ध मुर्दावादको नारा लगाएका हुन ।