जनता टाइम्स

१५ कार्तिक २०७९, मंगलवार १९:३५

‘एमालेले बहुमत ल्याउँदा मात्रै समृद्धिको चाहना पूरा हुन्छ’


सञ्जिता नेपाल/ललितपुर । ललितपुर २ का प्रतिनिधिसभा र प्रदेशसभामा नेकपा एमालेका उम्मेदवारहरुले एमालेले बहुमत ल्याउँदा मात्रै नागरिकको समृद्धिको चाहना पूरा हुने बताएका छन् ।

प्रेस चौतारी ललितपुरले इमाडोलमा आज आयोजना गरेको ‘उम्मेदवारसँग साक्षत्कार’ कार्यक्रममा प्रतिनिधिसभाका उम्मेदवार प्रेम महर्जन, प्रदेश सभा सदस्यका उम्मेदवारहरु ज्ञानेन्द्र शाक्य र रामेश्वर श्रेष्ठले ललितपुरलगायत देशको आमुल परिवर्तनका लागि सूर्य चिन्हमा मतदान गर्न आह्वान गर्नुभएको हो ।

उम्मेदवार महर्जनले एमाले कम्युनिष्ठ आन्दोलनको मुलधारका रुपमा बिकास भएको पार्टी भएको र आज धेरैजसो कम्युनिष्ट कार्यकर्ता एमालेमा आकर्षित भइरहेका उल्लेख गर्नुभयो । मुलुकलाई समाजबादमा लैजाने र समृद्धि हासिल गराउने जिम्मेवारी एमालेले लिने उहाँले बताउनुभयो । पार्टीले लिएको नीति र भोली बनाउने कानुन पनि जनमैत्री हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तनमा एमालेले अगुवाई गर्नसक्छ ।”

आफूले राजनीति समाज परिवर्तनका लागि गरिरहेको भन्दै प्रतिनिधिसभा सदष्यका उम्मेदवार महर्जनले बिजयी भएपछि पनि सामाजिक र आर्थिक रुपान्तरणका लागि लाग्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । सङ्घीय संसदमा बिजयी भएपछि जनताको सेवामा रहने उहाँले बताउनुभयो । निर्वाचनमा होमिँदा एमालेबाट बिजयी भएपछि यस क्षेत्रका सबै जनताको सेवामा समर्पित हुने उहाँको प्रतिबद्धता रहेको छ ।

निर्वाचन पछि इमान्दारिता कायम राख्दै जनताको दुःखसुखमा सहभागी हुने उहाँको प्रतिबद्धता रहेको छ । यस क्षेत्रमा रहेका सांस्कृतिक र प्रकृतिक सम्पदाहरुको संरक्षण र संवद्र्धनमा लाग्ने उहाँले बताउनुभयो ।

प्रदेश २ क का उम्मेदवार रामेश्वर श्रेष्ठले महालक्ष्मी नगरपालिकाका प्रमुख हुँदा प्राप्त गरेको ज्ञान र अनुभवलाई प्रदेशसभामा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

ललितपुर २ ख का उम्मेदवार ज्ञानेन्द्र शाक्यले आफूले यस अघि प्रदेशसभा सांसद् हुँदा धेरै विकास निर्माण अघि बढाएको र त्यसलाई पूरा गर्दै नयाँ योजना अघि बढाउने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।