काठमाडौं, १६ कात्तिक। हवाईजहाजमा सामान्यतया टिकट पाउन एक दिन अगाडिदेखि नै तयारी गर्ने तपाई हामीमाझ एक्लै यात्रा भनेको कल्पना भन्दा बाहिरको कुरा हुन जान्छ । तर कहिलेकाहीँ यस्तै घटनाहरू घट्ने रहेछन् । दशैं तिहारको बेला चाहेर पनि टिकट नपाउने समस्या भोग्ने तपाईँ हामीलाई यो कुरा सहजै पत्याउन सक्दैनौ । मङ्गलवार को एक घटनाले भने यो कुरा पत्याउन कर लाग्छ । ७२ जना यात्रु बोक्ने बुद्ध एयरको जहाज एक जना यात्रु लिएर विराटनगर पुगेको छ ।
काठमाडौंबाट बेलुका ८ बजे उडान भरेको यू ४ ७१७ को जहाजमा व्यवसायी उद्धव पौडेल मात्रै हुनुहुन्थ्यो । अहिले तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ । पौडेल राप्रपाको समानुपातिक तर्फ प्रतिनिधिसभाका उम्मेदवार समेत हुनुहुन्छ । राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले तस्बिर सार्वजनिक गर्दै लेख्नुभएको छ , ‘एक्लो यात्रु आज साँझ ८ बजेको बुद्ध एयरको काठमाडौं–विराटनगर उडानमा राप्रपा नेता, प्रतिनिधि सभाका समानुपातिक उम्मेदवार उद्धव पौडेल एक जना मात्रै यात्रु । रोचक र स्मरणीय यात्रा भएछ उद्धव दाइको । बुद्ध एअरको इतिहासमा पहिलो पटक यस्तो भएको हो । सम्भवतः नेपालको नागरिक उड्डयनको इतिहासमै पहिलो पटक यस्तो भएको हुनुपर्छ ।’













प्रतिक्रिया दिनुहोस्