जनता टाइम्स

१६ कार्तिक २०७९, बुधबार ११:५०

इप्रका खानीखोलाका इन्सपेक्टर जेल चलान


धादिङ, कात्तिक १६ । इलाका प्रहरी कार्यालय खानीखोलाका प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) अपुर्व ढुंगाना जेल चलान भएका छन । आफ्नै कार्यालयमा कार्यरत महिला प्रहरीलाई बलात्कार प्रयास गरेको अभियोगमा इन्सपेक्टर ढुंगाना पुर्पक्षका लागि कारागार चलान भएका हुन ।

ढुंगानालाई जिल्ला अदालत धादिङले मंगलबार थुनामा पठाउने आदेश दिएको हो । इलाका प्रहरी कार्यालय, खानीखोलामा कार्यालय प्रमुखका रूपमा कार्यरत रहेका बेला ढुंगानाले आफ्नै कार्यालयमा कार्यरत एक महिला प्रहरीमाथि बलात्कार प्रयास गरेको आरोप लागेको थियो ।

पीडित महिला प्रहरीको उजुरीका आधारमा गत १५ असोजमा जिल्ला प्रहरी कार्यालय, धादिङले उनलाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि न्यायिक हिरासतमा राखेको थियो । मदिरा सेवन गरेर मध्यराति महिला ब्यारेकमा पसेर बलात्कारको प्रयास गरेको पीडितको उजुरीमा उल्लेख छ ।

ढुंगानाविरुद्ध जबरजस्तीकरणी उद्योग मुद्दा दायर भएकोमा जिल्ला न्यायाधीश स्वीकृति पराजुलीको एकल इजलासले उनलाई थुनामा पठाउने आदेश दिएको हो । अदालतको आदेशअनुसार उनलाई मंगलबार नै कारागार पठाइएको जिप्रका धादिङका डीएसपी श्याम खत्रीले बताउनु भयो ।

गएको असोज १५ गते राति १ बजेतिर खानीखोलास्थित महिला प्रहरीको ब्यारेकमा पसेर इन्स्पेक्टर ढुंगानाले बलात्कार प्रयास गरेको महिला सहकर्मीको आरोप छ । ब्यारेकमा पुगेर यौन सम्बन्धको प्रस्ताव राखेको पीडितको उजुरीमा छ ।

सो घटना ‘रिपोर्ट’ हुनासाथ धादिङका प्रहरी उपरीक्षक (एसपी) राकेश सिंहले इन्स्पेक्टर ढुंगानालाई तत्काल पक्राउ गर्न आदेश गरेका थिए । ढुंगानालाई काठमाण्डौंमा पक्राउ गरी हतकडी लगाएर जिल्ला प्रहरी कार्यालय ल्याईएको थियो ।