सुनसरी, कात्तिक १७ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश, जिल्ला र नगरका विभिन्न नेता तथा कार्यकर्ताले विभिन्न आरोप लगाउँदै पार्टी परित्याग गरेका छन् ।
लामिछाने नेतृत्वको पार्टी परित्याग गर्नेमा प्रदेश कमिटी सदस्य तथा प्रदेश नं १ निर्वाचन परिचालन कमिटीका सभापति सञ्जीव भट्टराई, सुनसरी जिल्ला सचिव तथा प्रदेश नं। १ निर्वाचन परिचालन कमिटीका उपसभापति प्रेमप्रसाद तिमिल्सिना, धरान उपमहानगरपालिकाका सभापति राम कार्की, धरानका उपसभापति रिचन राई र प्रदेश कमिटी सदस्य शिल्पा भट्टराईलगायत हुनुहुन्छ ।
सो पार्टीका नेता तथा कार्यकर्ताले मङ्गलबार धरानमा पत्रकार सम्मेलन गर्दै पार्टी परित्याग गरेको प्रदेश कमिटी सदस्य तथा प्रदेश नं १ निर्वाचन परिचालन कमिटीका सभापति सञ्जीव भट्टराईले बताउनु भयो ।
भट्टराईले पार्टी सञ्चालनको अवस्था, आलोचनाप्रति असहिष्णु नेतृत्व, आर्थिक अपचलन, पार्टी सभापति लामिछानेप्रति लागेका अनैतिक आचरण, पारदर्शी आर्थिक गतिविधि, विगतमा लागेको आत्महत्या दुरुत्साहन मुद्दाजस्ता आरोप सही त थिएनन् भन्ने आशङ्का जन्मिएको र निष्पक्ष छानबिनका लागि सम्बन्धित निकायमा ध्यानाकर्षण गराउँदै कानुनी प्रक्रियामा जाने निर्णयका साथ पार्टी परित्याग गरेको बताउनु भयो ।
सुनसरी जिल्ला सचिव तथा प्रदेश नं १ निर्वाचन परिचालन कमिटी उपसभापति प्रेमप्रसाद तिमिल्सिनाले पार्टीले प्रतिनिधि सभा निर्वाचनको टिकट वितरण अपारदर्शी तरिकाले गरेको, उम्मेदवार छनोट हुनुअघि नै आकाङ्क्षीसँग दस्तुर उठाएर टिकट वितरण भइसके पनि अन्यको फिर्ता नगरेको, पार्टी नेतृत्वमा रहेका केही व्यक्तिको स्वेच्छाचारिता बढेका कारण पार्टी परित्याग गर्नु परेको बताउनु भयो ।












प्रतिक्रिया दिनुहोस्