विराटनगर, भदौ १। कोशी प्रदेश सरकारमा नवनियुक्त चार मन्त्री र एक राज्यमन्त्रीले सोमबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ। प्रदेश प्रमुख परशुराम खापुङले नवनियुक्त मन्त्री तथा मुख्यमन्त्रीले राज्यमन्त्रीहरूलाई शपथ गराउनुभएको हो। शपथसँगै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उहाँहरूको मन्त्रालयगत जिम्मेवारीसमेत तोक्नुभएको छ।
नयाँ मन्त्रिपरिषदमा नेकपाबाट खिनु लङ्वा लिम्बू, जीवन आचार्य, गीता तिम्सिना, गोम्बु शेर्पा मन्त्री र सपना दर्जी राज्यमन्त्री थपिनु भएको छ ।
उहाँहरूको कार्य विभाजनअनुसार खिनु लङवा लिम्बूले पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ। जीवन आचार्यलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ भने गोम्बु शेर्पाले आन्तरिक मामिला तथा कानुन मन्त्रालय सम्हाल्नुहुनेछ। गीता तिम्सिनालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ।
त्यस्तै सपना दर्जीलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ।
यसअघि मन्त्रिपरिषद्मा रहेका एमालेका तिलचन पाठकलाई खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, इन्द्रमणि पराजुलीलाई स्वास्थ्य मन्त्रालय, विदुरकुमार लिङ्थेपलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र रामप्रसाद महतोलाई उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आफैँसँग राख्नुभएको छ। मन्त्रिपरिषद् पुनर्गठनपछि प्रदेश सरकारको सबै मन्त्रालयको जिम्मेवारी बाँडफाँड भएको छ ।














प्रतिक्रिया दिनुहोस्