जनता टाइम्स

१७ कार्तिक २०७९, बिहिबार १४:४०

एमाले उम्मेदवारको भोट माग्ने नयाँ शैली, मतदाता देखिए निकै खुसी


बागलुङ, कात्तिक १७ । ‘हजुर नमस्कार, हजुरहरु काममै हुनुहुन्थ्यो, मैले डिस्टव गरेँ, माफ पाऊँ है’ धान उठाइरहेका किसानहरुको नजिकै पुगेर पाठकले भने ‘चैत वैशाखमा भएको भए त घरमै भेट हुन्थ्यो, बेला यस्तै छ, हजुरहरु व्यस्त भएर घरमा भेट्न पाइएन ।’

बुधबार आसन्न निर्वाचनका लागि प्रचारमा रहेका नेकपा एमालेका उम्मेद्वार डा. सूर्य पाठक जैमिनी नगरपालिका–९ पैञ्युथन्थापमा घरदैलो गर्दै हुनुहुन्थ्यो । मत माग्दै हिँडेका बागलुङ क्षेत्र नं. १ को प्रदेशसभा ‘ख’का उम्मेद्वार नवराज पौडेलसहितको नेताहरुको समुहले खेतबारीमै पुगेर मतदाता भेटेको थियो ।

एमाले उम्मेदवारहरुको यो शैलीले मतदाताको मन छोएको पाइएको छ । मतदातालाई भेट्दै पाठकले बितेका पाँच वर्षमा आफुले गरेका कामलाई हेरेर मतदान गर्न आग्रह गर्नुभयो । पाठकले पहिलो कार्यकाल अनुभव बटुल्ने समय भएको भन्दै जनताका सम्बोधन नभएका बाँकी मुद्दा आगामी कार्यकालमा सम्बोधन गर्ने बताउनु भयो । ‘मैले नगरेको होइन, तीन वर्ष हाम्रो सरकार थियो काम भएकै थिए, त्यसपछि सरकार ढल्यो काम रोकिए’ पाठकले भन्नुभयो, ‘हिजो मैले प्रयास गरेका कयौं काम अधुरा छन, पूरा गर्नुपर्ने छ ।’

प्रदेशसभाका उमेद्वार नवराज पौडेलले दक्षिण बागलुङको मुहार फेर्न आफ्नो उमेद्वारी भएको बताउनु भयो । निश्चित घेराभित्र रहेको राजनीतिलाई तोड्न र जनताको सेवा गर्ने प्रतिनिधि प्रदेश सभामा पु¥याउन एमालेलाई जिताउनुपर्ने पौडेलले बताउनु भयो ।

क्षेत्र नं. १ प्रदेशसभा ‘क’का उम्मेद्वार हिराबहादुर केसीले बागलुङ नगरपालिकाका बिभिन्न वडामा पुगेर जभेटघाट गर्नुभएको छ । केसीले यसपटक युवा उम्मेद्वार छानीछानी जनताले जिताउनुपर्ने बताउनु भयो । उर्जा र अनुभव भएका युवा नेताहरु चुनावी मैदानमा रहेकाले मतदान गर्न मतदातालाई सहज रहेको दाबी केसीले गर्नुभयो ।

क्षेत्र नं. २ प्रतिनिधिसभा उम्मेद्वार मञ्जु शर्मा चालिसे र प्रदेशसभा ‘क’का स्वतन्त्र उमेद्वार प्रकाश घर्तीले बडिगाड गाउँपालिकाका बिभिन्न वडामा घरदैलो गरिरहनु भएको छ । घरदैलोका क्रममा चालिसेले आफूले सधैं यस क्षेत्रका जनताको सेवा गरिरहेको भन्दै संसदमा पश्चिम बागलुङको आवाज पुर्याउन आएको बताउनु भयो ।

प्रदेशसभा उमेद्वार घर्तीले कुरा गर्नेभन्दा काम गर्ने उम्मेदवारलाई मत दिनुपर्ने बताउनु भयो । एमालेका समानुपातिक उम्मेद्वार बाबुराम नेपालीले सत्ता गठबन्धन स्वार्थ बोकेर जनताको माझमा आएकाले राष्ट्रियताको रक्षाको अभिभारा बोकेर आएको एमालेलाई जिताउनै पर्ने धारणा राख्नुभयोे ।