जनता टाइम्स

१८ कार्तिक २०७९, शुक्रबार १३:१०

बिनोद ढकाललाई मतदाताको सुझाव : विकासको पहरेदार बनिदिनोस


विराटनगर कात्तिक १८ । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि यतिबेला उम्मेदवारहरु मतदाता भेटघाटमा चुनावी मैदानमा छन् ।

चुनावी प्रचारमा घर दैलो र विभिन्न स्थानमा कोणसभामा उम्मेदवारहरु सक्रिय रहेका बेला जनताले भने स्थानीयतहले नगरेका कामको आक्रोश पोख्ने गरेका छन् । विशेष गरी स्थानीय सरकारका रुपमा रहेका पालिकाहरुले गरेका बेथिती, त्यहाँ भएका भ्रष्टचार र जनतालाई गरिएका वेवास्ता बढी जसो गुनासो हुने गरेको छ ।

एकपटक निर्वाचित भइसकेको उम्मेदवार भन्दा नयाँ उम्मेदवारप्रति जनताको आशा र भरोसा बढी देखिने गरेको छ । मोरङ क्षेत्र नम्बर ४ मा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार अमनलाल मोदी प्रतिनिधी सभा सदस्यको उम्मेदवार छन् । उहाँ यसअघि पनि दुई पटक सोहि क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचित भइसक्नु भएको छ ।

उहाँले जनअपेक्षाअनुसार काम गर्न नसकेको स्थानीयको भनाई छ । त्यही भएर त्यस क्षेकाजनताले पहिलो पटक उम्मेदवार बन्नुभएका नेकपा एमालेका नेता विनोद ढकालप्रति बढी विश्वास र भरोसा गरेको सुनाउँछन् । घर दैलोकै क्रममा विराटनगर– ३ मा पुग्नुभएका ढकाललाई त्यहाँको फलैँचामा जम्मा भएका स्थानीयले विराटनगर महानगरपालिकाका तत्कालिन मेयर भीम पराजुलीप्रतिको आक्रोश पोखे ।

दैनिक हजारौंको संख्यामा ठूला–ठूला सवारी साधन सञ्चालन हुने सडक निर्माणका क्रममा भएको भ्रष्टाचार औल्याउँदै स्थानीयले ढकाललाई भने, ‘हेर्नु यो सडक पिच गर्ने भनेर अनियमितता भएको छ, हामी दिनरात धुलो खाएर बस्नुपरेको छ । आज बाध्यभएर सडकमा ढाट लगाएर विरोधमा छौं । तपाईंहरुले यसको खबरदारी गरिदिनु पर्यो ।’ यस्तै विराटनगर १ को घर दैलोमा पुग्नुभएका ढकाललाई पनि स्थानीयले महानगरपालिकाले अपेक्षाकृत जनताको काम गर्न नसकेको भन्दै विकासको पहरेदार बनिदिन आग्रह गरे ।

जवाफमा ढकालले आफु यस क्षेत्रको विकासकै लागि उम्मेदवार बनेको भन्दै सधैं जनताको साथमा रहेर अघि बढ्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘यस क्षेत्रमा धेरै काम गर्नुछ, समग्रमा यहाँका जनताको जीवनस्तर उकास्नु छ, अधुरा काम पूरा गर्नुछ, मिलेर अघिबढौं म सधैं तपाईहरुको साथमा हुनेछु ।’

प्रतिनिधि सभाजस्तै प्रदेशतर्फ पनि उस्तै गुनासा र अपेक्षा आउने गरेको छ । क्षेत्रनम्बर ४ (क) मा नेपाली कांग्रेसका गुरुराज घिमिरे र नेकपा एमालेका जयप्रकाश चौधरीबीच प्रतिष्पर्धा छ । घिमिरे नेपाली कांग्रेसबाट लामो समयदेखि सोही क्षेत्रबाट राजनीति गर्दै आउनुभएको छ भने चौधरी विभिन्न सामाजिक क्षेत्रमा लामो समय काम गरेर राजनितीमा आएका युवा नेता हुनुहुन्छ । बौद्धिक व्यक्तित्वको छवि बनाएका चौधरीसँग स्थानीयको भरोसा बढी रहेको पाइन्छ । ‘नयाँ हुन्, केही गर्छन भन्ने लागेको छ,’ ग्रामथानको एक चियापसलमा भेटिएका रामनारायण राजबंशीले भन्नुभयो ।

यता ४ (ख)मा भने गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका भीम पराजुली र नेकपा एमालेबाट जीवन घिमिरे उम्मेदवार हुनुहुन्छ । पराजुली विराटनगर महानगरका पूर्व मेयर हुन भने घिमिरे प्रदेश १ का पूर्वसामाजिक विकास मन्त्री हुन । पराजुलीसँग महानगरबासी आक्रोशित छन भने पार्टी भित्रै चर्को गुटबन्दी गर्ने उहाँलाई पार्टीभित्रकै ठूलो असहयोग रहने कांग्रेस कार्यकर्ताको बुझाई छ ।

महानगरको नेतृत्व पराजुलीले गरिरहँदा विभिन्न विवादमा तानिएको तथा महानगरको आर्थिक अवस्था डामाडोल बनाएको आरोप पराजुलीलाई लाग्ने गरेको छ । उता घिमिरेप्रति भने प्रदेश सरकारमा रहँदा उल्लेख्य काम गर्ने नेताका रुपमा चित्रण गर्ने गरिएको छ ।

कोरोनाको महामारिमा घिमिरेले खेलेको भूमिका, सिंघिया खोलाको सरसफाई, शिक्षाको गुणस्तर वृद्धिका लागि खेलेको भूमिकादेखि खेलकुद क्षेत्रमा गरेको योगदानको निकै चर्चा हुने गरेको छ । तिनै कामको स्मरण गर्दै क्षेत्रका जनताले घिमिरेप्रति नै बढी विश्वास गरेको पाइन्छ ।