जनता टाइम्स

१८ कार्तिक २०७९, शुक्रबार १४:२२

बिजुली च्याप्टर १ को अडिसन आह्वान


काठमाडौं, १८ कात्तिक । निर्माणको तयारीमा रहेको फिल्म ‘बिजुली च्याप्टर १’ ले केही कलाकारका लागि अडिसन आह्वान गरेको छ । आगामी २२ कात्तिकमा कान्तिपुर फिल्म एकेडेमीमा हुने अडिसनमा २५ देखि ३० वर्ष उमेरको पुरुष, ३० देखि ३५ वर्षको पुरुष र १८ देखि २८ वर्ष उमेरको महिला कलाकार र अन्य सपोर्टिंङ क्यारेक्टर छानिने छ । विकास गिरीको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्मकी निर्माता लुना केसी हुन् ।

विकासको यो डेब्यू निर्देशन हो । बासुकी फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्ममा मुकुन भुसाल, बेनिशा हमाल, कालु राना अनुबन्धित भइसकेका छन् । फिल्मको क्रियटिभ प्रोड्युसर केदार भुसाल हुन् । फिल्ममा हरि घले लामाले छायांकन, शंकर धितालको एसोसिएट निर्देशन, आयुष बिसीको मुख्य सहायक निर्देशन हुनेछ । फिल्मको पोस्टर डिजाइन ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले गरेका हुन् ।

चार युग सत्य, त्रेता, द्वापर र कलियुग युगको प्रतिनिधि पात्रको कथामा बन्न लागेको फिल्मको अर्को भाग पनि निर्माण गरिने लेखक तथा निर्देशक गिरीले जानकारी दिनुभयो । ‘यो हिन्दू धर्मग्रन्थका पात्रको मोडर्न एडप्टेसन हो,’ निर्देशकले गिरीले भन्नुभयो । हिन्दू धर्मग्रन्थहरू रामायण, महाभारत र भागवत गीताका चरित्रलाई समेटेर फिल्म बनाउन लागिएको हो ।