जनता टाइम्स

१८ कार्तिक २०७९, शुक्रबार १४:३३

सबै पालिकाका गतिविधिको निगरानी सिसिटिभीबाट


जाजरकोट, १८ कात्तिक । सदरमुकामसहित सबै पालिकाका मुकामबाटै सिसिटिभी क्यामराद्वारा निगरानी सुरु गर्न लागिएको छ । भेरी नगरपालिकाको सदरमुकाममा तीन वर्षदेखि बिग्रिएका क्यामरा मर्मत गरेर सञ्चालनमा ल्याउन लागिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख सन्तोष निरौलाले जानकारी दिनुभयो ।

पालिकाको सहकार्यमा प्रहरीले सबै पालिकाको मुकाममा सिसिटिभी क्यामरा जडान गर्न लागेको उहाँले बताउनुभयो । शान्तिसुरक्षा तथा अनुसन्धानलाई प्रभावकारी बनाउन क्यामरा जडान गर्नुपरेको उहाँले बताउनुभयो ।

शिवालय गाउँपालिकाको सहयोगमा छेडाबजारमा, नलगाड नगरपालिकाको सहयोगमा दल्लीमा, कुशे गाउँपालिकाको सहयोगमा भाम्रमा, छेडागाडको सहयोगमा मनघाट तथा बारेकोटको बारेकोटमा र जुनिचाँदेको सहयोगमा त्यहाँको मुकाममा सिसिटिभी जडान गर्न थालिएको हो ।

मुख्यमुख्य नाकामा भने सिसिटिभीबाट निगरानी गर्न थालिएको छ । भिडभाड हुने ठाउँमा विभिन्न आपराधिक घटना हुने भएकाले सिसिटिभीको सहयोग लिनुपरेको बताइएको छ ।