जनता टाइम्स

१८ कार्तिक २०७९, शुक्रबार १९:१५

एमालेलाई सरकारमा पुर्याउन मात्रै होइन्, देश बनाउन सूर्यमा भोट दिनुस् : अध्यक्ष ओली


बैतडी, १८ कार्तिक । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज बैतडीको पाटनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एमालेलाई जिताउन आग्रह गर्नुभएको छ । दार्चुलामा दीप प्रज्वलन गरेर एमालेको प्रचार अभियान सुरुवात गर्दै बैतडी पुग्नुभएको ओलीले एमालेको आगामी योजना सुदूरपश्चिममा विकासको मूल फुटाउने रहेको बताउनुभयो ।

ओलीले बैतडीवासीलाई विकास निर्माणका विभिन्न आयोजना पुरा गर्ने आश्वासन दिनुभयो । नेपाल–भारत सिमानदी झुलाघाटमा पक्की पुल, महाकाली कोरिडोर आयोजना सम्पन्न, गोकुलेश्वरमा रहेको कृषि विज्ञान कलेज र पाटनमा रहेको भिमदत्त पोलिटेक्नीकल शिक्षालयको स्तरोन्नती, दशरथचन्द प्रतिष्ठान लाई राष्ट्रिय प्रतिष्ठान बनाउने, खनिज पदार्थको उत्खनन् तथा बैतडीमा रहेको फस्फोराईड खानी सञ्चालन गर्ने बताउनुभयो ।

उल्लेखित आयोजनाको काम विगतमा आफू नेतृत्वको सरकारले सुरुवात गरे पनि वर्तमान सरकारले अलपत्र छाडेको उहाँको आरोप छ । ओलीले बैतडीसहित सुदूरपश्चिका विभिन्न सामुदायिक क्याम्पसलाई आंगिक बनाएको बताउनुभयो । अध्यक्ष ओलीले सुदूरपश्चिममा रहेका सबै राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्ने जिम्मेवारी एमालेको काँधमा रहेको बताउनुभयो ।

मंसिर ४ मा एमालेलाई भोट दिन आग्रह गर्दै उहाँले भन्नुभयो,‘एमालेले अहिले बच्चा गर्भमा रहँदादेखि पुरै जीवनका योजनाको खाकासहित सार्वजनिक गरेको पार्टीको घोषणा पत्रमा टेकेर काम गर्नेछौँ । सूर्य चिन्हमा मतदान गरी एमालेका सबै उम्मेदवारलाई विजयी गराउन अनुरोध गर्छु ।’