जनता टाइम्स

२० श्रावण २०७६, सोमबार ०८:४१

चिकित्सा शिक्षा आयोगमा उपाध्यक्ष नियुक्तिको तयारी, ९ जना प्रतिष्पर्धामा


काठमाडौं, साउन २०

चिकित्सा शिक्षा आयोगले उपाध्यक्ष नियुक्तिको तयारी अगाडी बढाएको छ । दोस्रो पटक दरखास्त आव्हान गरेको उपाध्यक्ष सिफारिस समितिले परेका ११ मध्ये ९ जनालाई अन्तवार्तामा बोलाएको छ ।

२ जनाको दरखास्त भने रद्द गरेको छ। दरखास्त दिएका ११ जनामध्ये प्रमोदकुमार सर्राफ र जेएन पाण्डेयको दरखास्त रद्द गरिएको सिफारिस समितिले जनाएको छ। उनीहरुले आवेदन दिँदा आयोगसँग कुनै स्वार्थ टकराव नरहेको स्वघोषणा नगरेकाले दुवैको दरखास्त रद्द गरिएको समितिले जनाएको छ। यस अघि आवेदन दिएका ६ जनाको दरखास्त रद्द गरेको थियो। आवेदन परेका ११ जना मध्ये ९ जनालाई भने अन्तर्वार्ताका लागि डाकेको छ। पहिलो चरणमा ५ जनालाई साउन २६ गते बोलाइएको छ।

प्रा.डा. पारसकुमार पोखरेल, तरुण पौडेल, नीलमणि उपाध्याय, यहुनचन्द्र शिवाकोटी, रमेश प्रसाद सिंहलाई बोलाइएको हो। त्यस्तै साउन २७ गते ४ जनालाई अन्तरवार्ता दिन बोलाइएको छ। २७ गतेका लागि डाकिएकामा श्रीकृष्ण गिरी, शम्भुकुमार पहारी, राजेन्द्रप्रसाद साह र सुरेन्द्र शेरचन छन्। समितिले अन्तर्वार्तापछि ३ जना सम्भावित उम्मेदवारको नाम सरकारसमक्ष सिफारिस गर्नेछ।

प्रधानमन्त्री तथा आयोगका अध्यक्ष केपी शर्मा ओलीले तीमध्ये एक जनालाई उपाध्यक्ष नियुक्ति गर्ने प्रावधान छ। उपाध्यक्ष आयोगको कार्यकारी प्रमुख रहने व्यवस्था ऐनले गरेको छ। आयोगले पूर्णता नपाउँदा चिकित्सा शिक्षासम्बन्धी एकीकृत प्रवेश परीक्षा, शिक्षण संस्थाको नियमन, अनुगमन र व्यवस्थापन, शुल्क निर्धारणलगायतका काम प्रभावित बनेको छ। यस अघि आयोगले ६ जनाको आवेदन रद्द गर्दै पुनः दरखास्त मागेको थियो। साउन १५ गतेसम्म आवश्यक प्रक्रिया पुरा गरी दरखास्त दिन सकिने भन्दै आयोगले सार्वजनिक सूचना निकालेको थियो।