जनता टाइम्स

२० कार्तिक २०७९, आईतवार ०८:३०

नेकपा एसको सिंगो कमिटी एमालेमा समाहित


सिन्धुपाल्चोक, कात्तिक २० । नेकपा एकिकृत समाजवादीको सिंगो कमिटी नै नेकपा एमालेमा समाहति भएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा नेकपा एसको कमिटी एमालेमा समाहित भएको हो ।

नेकपा एसका अध्यक्ष माधवकुमार नेपालकै उपस्थितिमा भोटेकोशीमा नेकपा एसको कमिटी गठन भएको थियो । नेकपा एसको पार्टीले देश र जनताको लागि केही गर्न नसक्ने निष्कर्षका साथ सिगो कमिटी नै एमालेमा समाहित गरेको नेकपा एस भोटेकोशी गाउँपालिकाका अध्यक्ष साङगे शेर्पाले बताउनु भयो ।

समाजवादी भोटेकोशी गाउँपालिका कमिटीका अध्यक्ष साङगे शेर्पा, गाउँपालिकाका सचिव निमा दोर्जे शेर्पा,जिल्ला कमिटी सदस्य बलबहादुर तामाङ लगायत भोटेकोशी गाउँपालिकाबाट जिल्ला कमिटीमा प्रतिनिधित्व गर्ने सबै नेताहरु एमालेमा समाहित हुनुभएको हो । एमालेमा समाहित गर्ने कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एवम सिन्धुपाल्चोक–१ का उम्मेदवार सरेश नेपाल लगायतका नेताहरुले पुरानो घरमा स्वागत गर्नुभयो ।

त्यस्तै युवा, विद्यार्थी, सबै वडाका कमिटीहरु, जनवर्गीय संगठन समेत एमालेमा समाहित भएको नेकपा एमाले भोटेकोशी गाउँपालिकाका अध्यक्ष अमृत खडकाले जानकारी दिनुुभयो । समाजवादी भोटेकोशी गाउँपालिकाका अध्यक्ष साङगे शेर्पा स्थानीय निर्वाचनमा अध्यक्षका उम्मेदवार समेत हुनुहुन्थ्यो ।

आफ्नो नेतृत्वमा रहेको कमिटीसहित पुरानो घरमा फर्कदा न्यानो अनुभुति भएकोसाङगे शेर्पाले बताउनु भयो । अब विगत छोडेर मंसिरमा हुने निर्वाचनमा एमालेका उमेदवारहरुलाई जिताउन आफुहरु लाग्ने शेर्पाले उद्घोष गरे । ‘हिजोका कमी कम्जोरीहरुलाई सच्याउदै मंसिर ४ का लागि हामी तयारी छौ’ शेर्पाले भन्नुभयो ।