जनता टाइम्स

२० श्रावण २०७६, सोमबार १०:१७

प्रधानसेनापति थापाको सुधारका यी कामले सुरक्षाकर्मीमा छायो खुशीयाली


काठमाडौं, साउन २० । प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाभित्र आन्तरिक सुधारका लागि थुप्रै काम अघि बढाउनु भएको छ । सेनाको नेतृत्व सम्हालेपछि थपाले जवानदेखि अधिकृतसम्मको हितमा काम अघि बढाउनु भएको हो । संगठनभित्रको अनुशासनहीनता, अराजकता, मनपरी र अनियमितता लगायतका विकृतिविरुद्ध आचारसंहिता निर्माण गरेर ‘चेन अफ कमाण्ड’ स्थापित गर्नुभएका प्रधानसेनापति थापाले पछिल्लो समय सैनिक कर्मचारी र अधिकारीलाई उत्प्रेरणा मिल्ने खालका काम अघि बढाउनु भएको हो ।

सैनिक कर्मचारीको उत्प्रेरणा बढाउन प्रधानसेनापति थापाले शान्ति सेना मिसनमा जाने सैनिकको छनौट भनसुन र नातागोताभन्दा पनि विधि स्थापित गर्नुभयो । ज्येष्ठता र पालो नभएकालाई प्राथमिकतामा राख्ने विधि स्थापित गरेपछि हरेक सैनिकले आफ्नो सेवा अवधिमा शान्ति सेना मिसनमा जान पाउने सुनिश्चित भएको छ । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले समेत थापाको यो कदमलाई बिशेष प्राथमिकता दिई अघि बढाउन सहयोग गर्नुभएको छ । प्रधानसेनापति थापाले गरेको सुधारपछि आफू मिसनमा जान पाउने सम्भावित समयबारे सबै सैनिकले थाहा पाउँछन् ।

सैनिक कर्मचारी स्वेच्छिक सेवा निवृत्त हुने सेवा अवधिको सुधारमा पनि प्रधान सेनापति थापाले सक्रियता देखाउनुभएको छ । सैनिक जवानका लागि हाल कायम रहेको २० वर्षे पेन्सनको अवधि पुनरावलोकन गरेर १६ वर्षमा झार्नुपर्ने रायसहितको प्रस्ताव प्रधान सेनापति थापाले रक्षा मन्त्रालयमा पठाइसक्नुभएको छ । सैनिक मुख्यालयको प्रस्ताव पारित भएमा सैनिक कर्मचारीले चाहेमा १६ वर्षमै सैनिक सेवाबाट स्वेच्छिक निवृत्त हुन पाउने छन् ।

पछिल्लो समय सैनिक सेवामा आकर्षण घटेको र कतिपय सैनिक जवानले विचमै राजीनामा दिने क्रम बढेपछि थापाले यो काम अघि बढाउनु भएको हो । उहाँको यो सुधारले सेनामा आकर्षण बढ्ने छ भने सैनिक कर्मचारीलाई काम गर्ने हौसला पनि बढने छ । सेनामा सेवाअवधि लामो हुने र सेवासुविधा कम हुने गरेका कारण आकर्षण घट्दै गएको थियो । सेनाभित्र आकर्षक मानिएको शान्ति मिसनमा सबैलाई सुनिश्चित गरिएपछि सेनाभित्र आकर्षण बढ्ने देखिएको छ ।

प्रधानसेनापतिले पठाएको पत्रमा उल्लेख छ, ‘नेपाल सरकारलाई आर्थिक भार सन्तुलन हुने गरी सेनाका पदीय तथा अन्य दर्जाहरूको निवृतिभरण अवधि फ्लोअर्स र सिपाहीलाई १६ वर्ष, बिल्लादार, जमदार, सुवेदार र अधिकृतलाई क्रमशः १७, १८, १९ र २० वर्षसम्म अवधि पुगेपछि निवृत्तिभरण पाउन उपयुक्त हुने व्यवस्था लागू गर्न आवश्यक रहेको ।’ गत साउन ५ गते रक्षा सचिवलाई सम्बोधन गर्दै प्रधानसेनापति थापाले पठाउनुभएको प्रस्ताव रक्षा मन्त्रालयमा छलफलका क्रममा छ । सेनापति थापाले सैनिक कर्मचारीको उत्प्रेरणा बढाउने काम गरिरहँदा यसबाट अन्य सुरक्षा निकायको नेतृत्वले समेत शिक्षा लिनुपर्ने आवाज समेत उठ्न थालेको छ ।

प्रधान सेनापति थापाले गरेको १६ वर्षे सेवा अवधिको प्रस्ताव अन्य सुरक्षा निकायमा समेत लागू गर्नुपर्ने आवाज उठ्न थालेको छ । सेवाअवधी घटाउँदा सुरक्षाकर्मीले विचमै सेवा छाडेर जाने अवस्थाको समेत अन्त्य हुने सुरक्षाकर्मीहरू बताउँछन् । प्रधानसेनापति थापाले नेतृत्व सम्हालेपछि सेनाभित्र सुधारका थुप्रै प्रयास भएका छन् । नेपाली सेनाको प्राज्ञिक र बौद्धिक क्षमता अभिवृद्धिका लागि ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय’ स्थापना गर्ने काम समेत अगाडि बढेको छ ।

विश्वविद्यालय स्थापनाका लागि केन्द्रीय कार्यालयको समेत खुलिसकेको छ । चिनियाँ सहकार्यमा विश्वविद्यालय स्थापना हुने र त्यसले प्रतिरक्षा सम्बन्धी नीति निर्माणमा सहयोग र्पर्याउने चर्चा सुरक्षा निकायभित्र रहेको छ । सेनाको नेतृत्व लिएलगत्तै सुधारको काम अघि बढाउनु भएका थापाले भ्रष्टाचारमा संलग्न भई सेनाकै छवि धमिल्याउने काम नहोस भन्नेतर्फ पनि बिशेष कदम चालेको सैनिक अधिकृतहरु बताउँछन ।