जनता टाइम्स

२० श्रावण २०७६, सोमबार १२:०६

नवलपरासीका ७० उद्योग खारेज


नवलपरासी, साउन २०

घरेलु तथा साना उद्योग कार्यालयले पश्चिम नवलपरासीका ७० घरेलु तथा साना उद्योगलाई आर्थिक वर्ष २०७५/०७६ मा खारेज गरेको छ । खारेजीमा पर्नेमा सबैभन्दा धेरै पर्यटन उद्योग छन् । कार्यालयले दिएको जानकारीअनुसार गत आवमा २६ पर्यटन उद्योग खारेज भएका छन् भने २३ सेवामूलक, ११ उत्पादमूलक, १० कृषि तथा वन पैदावरमा आधारित उद्योग रहेका छन् ।

औद्योगिक व्यवसाय ऐन २०७३ अनुसार उद्योगीले उद्योग चलाउन नसक्ने भनी कारणसहित निवेदन दिएमा, शर्त तथा निर्देशन पालना नगरेमा, लामो समयसम्म नवीकरण नगरेमा उद्योग खारेज हुने प्रावधान छ तर अहिले खारेज भएका उद्योग उद्योगी स्वयंको आग्रहमा खारेज गरिएको कार्यालयका उद्योग अधिकृत नेत्रप्रसाद भुसालले बताउनुभयो ।

कार्यालयका अनुसार गत एक वर्षको अवधिमा जिल्लामा एक हजार ७५ लघु तथा साना उद्योग पनि थपिएका छन् । कच्चा पदार्थ उपलब्ध हुने भएकाले ती उद्योगतर्फ लगानीकर्ता आकर्षित देखिएको कार्यालयले जनाएको छ । पछिल्लो समय औद्योगिक वातावरण बन्दै जानुका साथै सानो पूँजीबाट राम्रो आम्दानी हुने गरेपछि जिल्लामा साना उद्योगको सङ्ख्या बढ्दै गएको कार्यालय प्रमुख भुसालले जानकारी दिनुभयो ।

विशेषगरी लगानीको वातावरण जिल्लामा राम्रो रहेको र विदेशबाट फर्किने धेरैले साना उद्योगमा लगानी गर्न थालेका छन् । थोरै लगानीबाट आम्दानी पनि राम्रै हुने भएकाले यसतर्फ आकर्षण बढेको देखिन्छ । भुसालका अनुसार हाल जिल्लामा १०७ लघु उद्योग र छ हजार ६११ साना उद्योगसहित कूल छ हजार ६४८ साना उद्योग सञ्चालनमा छन् । गत आवमा दर्ता भएका उद्योगमा चार हजार ५८२ ले रोजगारी पाएका छन् ।

बालिका बलात्कार गरी फरार अभियुक्त पक्राउ

११ वर्षकी बालिकालाई पटक–पटक जबर्जस्ती करणी गरी फरार रहेका थप एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पश्चिम नवलपरासी प्रहरीले गुल्मीबाट ती अभियुक्तलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार गुल्मी जिल्लाको जहाङ्ग खैरेनी गाउँपालिका-६ घर भई हाल सुनवल-४ नवलपरासी बस्ने ५५ वर्षीय शिव श्रेष्ठ पक्राउ परेका हुन् ।

उनलाई पश्चिम नवलपरासी प्रहरीले गुल्मीस्थित आफ्नै घरबाट पक्राउ गरेको जनाएको छ । पक्राउ परेका श्रेष्ठलाई जबर्जस्ती करणीअन्तर्गतको मुद्दामा म्याद थप गरी अनुसन्धान थालिएको छ । यसअघि सोही घटनामा संलग्न सुनवल नगरपालिकाका ६० वर्षीय नारायण श्रेष्ठ र ४१ वर्षीय लोकबहादुर खत्री पक्राउ परेका थिए । बालिकाका आमाबुबा घरमा नभएको मौका छोपी उनीहरुले डेढ महीनादेखि ती बालिकालाई पटक–पटक जबर्जस्ती करणी गर्दै आएका थिए ।