जनता टाइम्स

२१ कार्तिक २०७९, सोमबार १८:३२

‘विकास मन पराउनेहरुको आफु साझा उम्मेदवार’


दोलखा, कात्तिक २१ । नेकपा एमाले दोलखाका प्रतिनिधि सभा उम्मेदवार बालकृष्ण शिवाकोटीले विकासको पक्षमा हुने सबै जनता तथा पार्टीको आफू साझा उम्मेदवार रहेको वताउनुभएको छ ।

मेलुङ गाउँपालिकाको पवटीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै शिवाकोटीले एमाले पार्टीबाट टिकट पाउँदा पनि आफू कांग्रेस माओवादी समाजवादी लगायतका पार्टीको साझा उम्मेदवार भएको दावी गर्नुभएको हो ।

नेपाली कांग्रेस र समाजवादीले आफूलाई साझा उम्मेदवार भनेर टिकट नै दावी नगरेको र माओवादी पार्टीभित्र पनि विकास तथा समृद्धिको चाहना राख्ने मानिसहरुले आफूलाई नै मतदान गर्ने भएको हुँदा आफूले भारी मतले जितेर प्रतिनिधीसभामा दोलखाबाट प्रतिनिधित्व गर्ने उहाँको भनाई छ ।

कार्यक्रममा बोल्दै नेकपा एमाले दोलखाका अध्यक्ष एवं प्रदेश क का उम्मेदवार नर बहादुर श्रेष्ठले आफुले गाउँपालिका अध्यक्ष हुँदा गरेका कामहरुका कारण अहिले मेलुङ गाउँपालिकमा विकास र समृद्धीको जग बसेको दावी गर्नुभयो । हामीले विकास के हो भन्ने कुरा यहाँका जनतालाई अनुभव गर्ने वातावरण वनाएका छौ । आगामी दिनमा पनि जनताको मत पाएर प्रदेश सभामा निर्वाचित हुने उहाँले बताउनुभयो ।

कार्यक्रममा नेकपा एमालेका पोलिटव्युरो सदस्य पार्वत गुरुङ, एमाले प्रदेश क का चुनावी कमाण्डर इश्वरचन्द्र पोखरेल लगायतले सम्बोधन गर्दै नेकपा एमाले जनताको मनमनमा बसेको पार्टी भएको हुँदा आगामी मंसिर ४ को निर्वाचनमा सूर्य चिन्हमा मतदान गरी एमालेका उम्मेदवारहरुलाई विजयी गराउन आग्रह गर्नुभयो ।