जनता टाइम्स

२२ कार्तिक २०७९, मंगलवार १४:२५

सम्पदा संरक्षण गर्दै हस्तकला पुस्तान्तरण गर्न लाग्नेछु : एमाले उम्मेदवार महर्जन


सञ्जिता नेपाल/ ललितपुर। कलाको नगरीका रुपमा रहेको ललितपुरमा हस्तकला पुस्तान्तरण गर्ने र नगरमा रहेका संस्कृतिको जर्गेना गर्ने योजना क्षेत्र नम्वर २ का प्रतिनिधिसभा उम्मेदवार प्रेम महर्जनको छ ।

राजनीतिसँगै सामाजिक र सांस्कृतिक क्षेत्रमा सक्रिय उहाँले निर्वाचनमा नयाँ पुस्ता हस्तकलामा आकर्षित नभएको अवस्थामा उनीहरुलाई सीपमुलक तालिम दिने योजना बनाउनुभएको छ । यस क्षेत्रमा रहेका बहाः, बही, मठमन्दिर, पाटीपौवाहरुको भौतिक तथा सांस्कृतिक संरक्षणका लागि पहल गरिने उहाँले बताउनुभयो ।

नगरका बिभिन्न क्षेत्रमा हिजो जुन पुस्ताले काम गरिरहेको छ त्यो पुस्ताले गर्न नसक्ने भएको र नयाँ पुस्ताले रोज्न नसकेको उम्मेदवार महर्जनलले बताउनुभयो । यूवाहरुलाई सीपमुलक तालिम दिएर रोजगारी सिर्जना गर्न सकिन्छ । उहाँले भन्नुभयो, “यसले गर्दा सांस्कृतिक र हस्तकलामा विकास गर्न सकिन्छ ।”

यस क्षेत्रमा बौद्ध अद्वितिय सम्पदाहरु रहेको र तीनलाई संरक्षण गर्न र प्रचीनकालदेखि उपत्यकामा चलिआएको बुद्ध शिक्षा र बौद्ध अभ्यासको संस्कृतिलाई जर्गेनाका लागि लाग्ने उहाँले मतदातालाई प्रतिबद्धता जनाउनुभएको छ ।

रातो मछिन्द्रनाथ तथा मीननाथको जिवन्त सङ्ग्राहलय निर्माण गर्न सम्बन्धित निकायसँग समन्वय गरी पहल गर्ने उम्मेदवार महर्जनले बताउनुभयो । सांस्कृतिक बाजागाजा, भजन, तुतः नामसंगीति पाठ, पूजाविधि, जात्रापर्वलगायतका मूर्त र अमूर्ति सांस्कृतिक सम्पदा संरक्षण, संवद्र्धन र प्रवद्र्धनमा लाग्ने उहाँले प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।

आफू निर्वाचित भएपछि पाटन दरवार क्षेत्रमा जीर्ण अवस्थामा रहेको पुरानो जिल्ला अदालतको भवनलाई पुनःनिर्माण गर्ने उम्मेदवार महर्जनको योजना छ । नगरलाई स्वच्छ, सफा र आकर्षक वतावरण निर्माण गरी देशकै प्रमुख पर्यटकीय गन्तब्यका रुपमा विकास गर्ने पनि उहाँको योजना छ ।

यस क्षेत्रका व्यक्तिगत घरहरुका पनि इँटा, ढोका, झ्यालमा कला नमूना भेट्न सकिन्छ । आगामी दिनमा एकीकृत नगर विकासको योजना अघि बढाउँदै यहाँका संस्कृति जीवन्त बनाइराखिने उहाँको योजनामा समाबेस छ । मङगलबजार पर्यटकीय क्षेत्रका रुपमा विकास हुँदैछ र अझै व्यवस्थित ढङ्गबाट विकास गर्नुपर्ने उम्मेदवार महर्जनको धारणा रहेको छ ।

मङ्गलबजारमा पाटन दरबार क्षेत्र विश्व सम्पदा सूचिमा सूचिकृत रहेको छ । यहाँ लिच्छिबीकालीन र मल्लकालीन धेरै ऐतिहासिक धरोहर, मन्दिर, दरबार, पाटीपौवा र ढुङ्गेधारा रहेकामा तीनलाई जर्गेना गर्नु प्रमुख दायित्व रहेको उहाँको धारणा छ । त्यस क्षेत्रमा योजनाबद्ध विकासको योजना उहाँले मतदातालाई सुनाउदै आउनुभएको छ ।

सिद्धिपुर, लुभुलगायतका शहरहरुमा छरिएर रहेका सम्पदा संरक्षण गर्नुपर्ने आबश्यकता रहेको महर्जनको धारणा छ । अमूर्त संस्कृतिका रुपमा रहेको रितिरिवाज, संस्कार, संस्कृतिले नेपाललाई विदेशसम्म चिनाएको छ । बाजागाजा र ऐतिहासिक नाच, गीत पनि संरक्षणका लागि लाग्ने उहाँले बताउनुभयो ।

विगतमा दुई पटक वडाअध्यक्षका रुपमा निर्वाचित भएर नागरिकको मन जित्ने गरी काम गरिसक्नुभएका महर्जनले ग्रामीण विकासमा स्नातकोत्तर र कानुनमा स्नातकसम्मको अध्ययन गर्नुभएको छ । उहाँ राजनीतिसँगै सामाजिक क्षेत्रमा पनि उतिकै सक्रिय हुनुहुन्छ । ज्यापु समाज यलको अध्यक्ष भइसक्नुभएका उहाँ हाल टोल सुधार समिति गुइटोलका अध्यक्ष हुनुहुन्छ ।