विराटनगर, कात्तिक २३ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नं. ४ बाट प्रतिनिधिसभाका उम्मेदवार विनोद ढकालले एमालेले पाँच वर्ष भित्रमा नेपाली किसानको जिवनस्तर उकास्ने ग्यारेन्टी गरेको बताउनु भएको छ ।
चुनावी अभियानका क्रममा कटहरी गाउँपालिका ३ मा भएको टोल भेलालाई मंगलबार सम्बोधन गर्दै ढकालले नेपाली किसानले भोग्दै आएका समस्याहरु समाधानका लागि एमालेले विशेष कार्यक्रम ल्याएको बताउनु भयो । मलका समस्या, बिऊका समस्या, मुल्यको समस्या, बजारका समस्या रहेको बताउँदै उहाँले ती समस्या समाधान गर्दै उत्पादित बस्तुको मुल्य र बजारको ग्यारेन्टी एमालेले गर्ने बताउनु भयो ।
एमालेको सरकार बन्यो भने कृषिलाई आधुनिकिकरण र यान्त्रीकरण गर्ने, युवालाई कृषिमा लाग्ने वातावरण सिर्जना गर्ने, कृषकको जीवनस्तर उकास्दै कृषिमा देशलाई आत्मनिर्भर बनाउँने एमालेको लक्ष्य र कार्यक्रम भएको ढकालले बताउनु भयो । ‘यो क्षेत्र कृषिमा आधारित क्षेत्र हो । त्यसैले एमालेको नीति अनुसार यस क्षेत्रका किसानको जीवनस्तर उकास्न मैले गर्नुपर्ने सबै कार्य गर्नेछु,’ उहाँले भन्नुभयो ।

समयमै मल, बिउ उपलब्ध गराउँने कृषकहरुलाई आधुनिक कृषिको ज्ञान, सीप दिलाउने, कृषिमा यान्त्रिकरण गरेर उत्पादन बृद्धि गर्ने, उत्पादित वस्तुको मुल्य र बजारको ग्यारेन्टी गर्ने कार्य पाँच वर्षमा सकेर किसानको जीवन परिवर्तन गर्ने उहाँको भनाइ थियो । ढकालले भन्नुभयो, ‘एमालेले जब–जब अवसर पाएको छ, काम पनि गरेको छ ।’ एमाले देश बनाउँने भिजन र काम गर्ने योजना भएको पार्टी भएकाले एमालेलाई यस पटकको निर्वाचनमा बहुमत सहित विजयी गराउन ढकालले मतदातालाई आग्रह गर्नुभयो ।
मोरङ क्षेत्र नं. ४ का विभिन्न टोलको घरदैलोमा रहनु भएका ढकाललाई चुनावी अभियानमा कलाकारहरुको सास्कृतिक टोलीले पनि साथ दिएको छ । पहिलो पटक यस क्षेत्रमा उम्मेदवार बनेका ढकालको मुख्य प्रतिष्पर्धा यस अघि त्यसै क्षेत्रबाट विजयी भएका माओवादी केन्द्रका अमनलाल मोदीसँग छ । मोदीले आफ्नो कार्यकालमा क्षेत्रको विकासका लागि सक्रिय भूमिका निर्वाह नगरेको भन्दै स्थानीयबासी रुष्ट छन् ।













प्रतिक्रिया दिनुहोस्