जनता टाइम्स

२३ कार्तिक २०७९, बुधबार १२:२९

पाइलट विजय लामालाई उडानमा रोक लगाइयो


काठमाडौं, २३ कात्तिक । जहाज उडाउँदै गर्दा अनधिकृत व्यक्तिलाई ककपिटमा छिर्ने अनुमति दिँदै भिडिओ अन्तर्वार्ता दिएपछि पाइलट विजय लामा कारबाहीमा परेका छन् । क्याप्टेन लामालाई तत्कालका लागि उडानमा रोक लगाइएको छ ।

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले यसबारे अध्ययन भइरहेकाले लामालाई तत्कालका लागि उडानमा रोक लगाइएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीलाई पनि यसबारे खबर आएको छ । छानबिन गरिरहेका छौं । वास्तविकता बुझ्दैछौं, अनुसन्धान भइञ्जेल उहाँलाई उडानमा रोक लगाइएको छ । अनुसन्धानबाट जे आउँछ सोही अनुसार कारबाही अघि बढ्छ ।’

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकको अनुमतिमा मात्र के कारणले फोटो वा भिडिओ लिन लागिएको कारण स्पष्ट पारेर मात्र पाइलटले फोटोग्राफी वा भिडियोग्राफी गर्न सक्छन् ।

एभिएसन भ्लगर साम चुईले दुबई/काठमाडौं रुटको एक भ्लगमा ककपिटबाटै पाइलट विजय लामासँग अन्तर्वार्ता लिएको सार्वजनिक भएपछि लामा अनुसन्धानमा तानिएका हुन् ।यसबारे नेपाल वायुसेवा निगम मातहतको सुरक्षा विभागले प्राधिकरणलाई जानकारी गराएको थियो । प्राधिकरणका निरौलाका अनुसार नेपाली उडान क्षेत्रमा अहिलेसम्म यस्तो गतिविधि भएको आफुलाई जानकारी नभएको बताउनुभयो।